बिहिबार, बैशाख १३, २०८१

सभापति देउवाद्वारा दाहालको निधनप्रति दुःख व्यक्त

काठमाडौ फागुन ७,
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ओखलढुङ्गाका महासमिति सदस्य एवं जिल्ला कार्यसमितिका पूर्वसचिव मित्रसेन दाहालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

दाहालको आज बिहान काठमाडौँको ओम अस्पतालमा उपचारका क्रममा हृदयघातबाट निधन भएको हो । सभापति देउवाले शोक विज्ञप्तिमार्फत स्व दाहालले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नुभएको भूमिकाको स्मरण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

स्व दाहाल राजनीतिक क्षेत्रका साथै लामो समयदेखि दर्जनौँ सरकारी तथा गैरसरकारी, व्यावसायिक, सामाजिक, शैक्षिक र विविध सङ्घसंस्थामा संलग्न रहँदै आउनुभएको थियो । दाहालले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । दाहालको श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ । स्व दाहालको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम रहेको पार्टी कार्यालयले जनाएको छ ।