बिहिबार, चैत्र १५, २०८०

आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी श्रीपञ्चमी मनाइँदै

सरस्वतीको ध्यान ‘श्रीं ह्रीं सरस्वत्यै स्वाहा’

काठमाडौं फागुन ४ ,
आज माघ शुक्ल पञ्चमी अर्थात श्रीपञ्चमी’ पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । आजको दिन सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागिश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

आजका दिन सरस्वतीको पूजा गरी विद्या प्रारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास सहित विद्याकी अधिष्ठात्री देवी मात्र नभइ सिर्जनाकी देवी समेत भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । आजको दिन विशेषगरि उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, त्यसमाथि पनि छात्रछात्राको उल्लेख्य घुइँचो लाग्ने गर्छ ।

त्यसो त आजबाट सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमीका रुपमा पनि मनाइने गरिन्छ । त्यस्तै गरि आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह  जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने धार्मिक मान्यता रहिआएको छ । यसैवीच यस बसन्तपुरस्थित हनुमानढोका दरबारमा राष्ट्राध्यक्षको उपस्थितीमा वसन्त श्रवण गराइने प्रचलन रहिआएको छ ।