शुक्रबार, चैत्र १६, २०८०

अनलाइनबाट चिठ्ठामा रकम परेको भन्दै १४ लाख नगद ठगी गर्ने पक्राउ

काठमाडौ माघ २६,
अनलाइनबाट चिठ्ठा परेको बहाना बनाई लाखौँ रकम ठगी गर्ने एक व्यक्तिलाई आज प्रहरीले पक्राउ गरी महानगरीय अपराध महाशाखा काठमाडौँ पठाएको छ । अर्जुनधारा नगरपालिका–९ का २९ वर्षीय पङ्कज पौडेली रु १४ लाख नगद रकमसहित विर्तामोडबाट पक्राउ परेका हुन् ।

उनले चिठ्ठामा परेका सामग्री तथा पैसा भन्सारबाट छुटाउन कर लाग्ने भन्दै विभिन्न व्यक्तिसँग बैंकको खाता नम्बर दिई पैसा असुल्दै ठगी गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । महानगरीय अपराध महाशाखामा चिठ्ठामा सामान तथा पैसा परेको भनी विभिन्न व्यक्तिलाई विकले बैंक खाताबाट रकम ठगी गरेको भनी परेको जाहेरीका आधारमा प्रहरीले विर्तामोड नगरपालिका–२ स्थित चारपानेबाट आज पक्राउ गरेको हो ।

पक्राउ परेका उनको साथबाट रु तीन लाख ५६ हजार ७१०, निजको घरको कोठाको दराजभित्रबाट रु दुई लाख आठ हजार २०० र उनकै घर पछाडिको गाईग्वाली छेउमा गोबरको थुप्रोभित्रबाट लेडिज ब्यागमा लुकाएर राखेको नगद रु आठ लाख ३० हजार ३०० गरी रु १३ लाख ९५ हजार २१५ र विभिन्न कागजात फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताउनुभयो । उहाँले थप अनुसन्धानका लागि आजै उनलाई महानगरीय अपराध महाशाखा मिनभवन पठाइएको जनाएको छ ।