शनिबार, बैशाख ८, २०८१

नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठक: पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय

काठमाडौं माघ १९,
नेकपा प्रचण्ड–नेपाल समूहको आज बसेको केन्द्रीय कमिटीको बैठकले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा जाने निर्णय गरेको छ ।

प्रतिनिधिसभा विघटनसँगै दुई कित्तामा विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहले अध्यक्षबाट केपी ओलीलाई हटाएर माधवकुमार नेपाललाई चयन गरेको थियो भने ओली पक्षले केन्द्रीय कमिटी विस्तार गरेको थियो । दुवै समूहले राजनजीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार त्यही विवरण अध्यावधिक गर्न आयोगलाई पत्र लेखे पनि आयोगले गत ११ माघमा दुवै पक्षका दाबी अस्वीकार गर्ने निर्णय गरेसंगै यस्तो निर्णय गरेको हो ।

बैठक पछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ दिएको जानकारी अनुसार आजको बैठकले गरेको निर्णय अनुरुप आयोगमा जाने निर्णय भएको बताउदै केपी ओलीलाई पार्टीको साधारण सदस्यबाटै र विष्णु पौडेललाई महासचिवबाट समेत हटाउने स्थायी कमिटीको निर्णय पनि आजको केन्द्रीय समिति बैडकले अनुमोदन गरेको बताउनुभयो ।