शुक्रबार, चैत्र १६, २०८०

कांग्रेसले आज प्रतिगमन विरुद्ध पार्टीका १३ वटा भ्रातृ संस्थाको तर्फबाट देशभर प्रदर्शन गर्दै

 काठमाडौं माघ १९,
प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भएको ठहर गर्दै सडक आन्दोलनमा उत्रिएको नेपाली कांग्रेसले आज पार्टीका १३ वटा भ्रातृ संस्थाको तर्फबाट आज देशभर एकसाथ प्रतिगमन विरुद्ध प्रदर्शन गर्दैछ । सरकारको प्रतिनिधिसभा विघटनको कदमबिरुद्ध विरोधका लागि आव्हान गरिएको प्रदर्शनमा व्यापक सहभागिताका लागि संयुक्त अपील समेत जारी गरिकोछ ।

त्यस्तै जारी अपीलमा संसद विघटनमार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिड विरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका बिषयमा सरकारी उदासिनतासहित समग्र मुद्दा केन्द्रीत विरोध प्रदर्शनको क्रममा काठमाडौं काँग्रेस क्षेत्र न ८ ले शान्ति वाटीकामा विरोध सभाको आयोजना गरिएको  छ ।

यसरी संयुक्त आन्दोलनको लागि आव्हान गर्नेहरुमा नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मी, नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, नेपाल प्रजातन्त्र सेनानी संघका सभापति टंकप्रसाद शर्मा कँडेल, नेपाल किसान संघका सभापति भानुभक्त सिग्देलव र नेपाल दलित संघका अध्यक्ष मीनबहादुर विश्वकर्मा रहेका छन् ।

त्यस्तै, नेपाल भूतपूर्व सैनिक संघका अध्यक्ष कर्णेल धनबहादुर मास्की राना, नेपाल आदिवासी जनजाति संघका अध्यक्ष इन्द्रबहादुर गुरुङ्ग, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष भोजराज श्रेष्ठ, नेपाल मुस्लिम संघका अब्दुल सतार, नेपाल तामाङ्ग संघका अध्यक्ष कवेलबहादुर लामा, नेपाल राष्ट्रिय मगर संघका अधयक्ष ओम थापामगर र नेपाल ठाकुर समाजका अध्यक्ष अनिरुद्ध्रप्रसाद ठाकुर रहेका छन ।