मङ्लबार, चैत्र ६, २०८०

झारफुक गर्ने बहानामा तातो फलामले डाम्दा बिरामीको मृत्यु ,घटनामा संलग्न दम्पती पक्राउ

गुल्मी, २ माघ
ढाड दुख्ने बिरामीलाई झारफुक गरी उपचार गर्ने बहानामा फलामको रड, प्लाष्टिकको पाईप र स्टिलको झाँजर तताई शरीरका विभिन्न भागमा डाम्दा बिरामीको मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा गुल्मी रेसुङ्गा नगरपालिका ओख्रेनी तिनधारा बस्ने मालिका घर भएका ३८ वर्षीय राम प्रसाद श्रेष्ठ र उनकै श्रीमती ३६ वर्षीया शान्तिला श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

राम प्रसादले आफ्नो घरमा अपरिचित व्यक्तिहरु आई अशान्ति मच्चाई रहेको भन्दै बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय गुल्मीमा निवेदन दिएपछि अनुसन्धानको लागि खटिएको प्रहरीले ६४ वर्षीय राम बहादुर कुमाल लाई आगोले पोली डामी मृत्यु भएको तथा उनका जेठो छोरा ३४ वर्षीय हुम बहादुर मुखिया सामान्य घाइते अवस्थामा फेला परेका थिए ।

त्यस्तै प्रहरीले गत आइतबार राम प्रसादको घरमा गएका रामबहादुरलाई उपचार गर्ने बहानामा खाना खान समेत नदिई आगोमा तताएको उक्त फलामे बस्तुले डामेपछी सन्चो हुन्छ र आफै एकछिनमा उठ्छन् भन्दाभन्दै उनको मृत्यु भएको अनुसन्धानबाट खुल्न आएको जनाएकोछ ।
साथै रेसुङ्गा नगरपालिका९५ भुवनपानी बस्ने ४० वर्षीया टोपला दमाईलाई समेत झारफुक गर्ने बहानामा राम प्रसादले गत शनिबार बोलाई सोही विधिबाट पोली डामी घाइते बनाएको खुल्न आएको छ । टोपलालाई उपचारको लागि अस्पतालतर्फ पठाइए जनाउदै घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।