शनिबार, बैशाख ८, २०८१

महासंघ र अन्नपूर्ण दैनिकका व्यवस्थापन वीच सहमतिभएसंगै पूर्व घोषित आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौं पुस २१,
नेपाल पत्रकार महासंघले अन्नपूर्ण राष्ट्रिय दैनिकमा कार्यरत श्रमजीवी पत्रकारहरुलाई पूर्ववत जिम्मेवारीमा फर्काउने लगायतका माग सहित घोषणा गरेको आन्दोलनको क्रममा पत्रिकाका व्वस्थापन र महासंघ वीच सहमति भएको छ ।

महासंघका सचिवद्वय रामप्रसाद दाहाल र प्रकाश थापाको रोहबरमा भएको सहमति अनुसार अन्नपूर्ण व्यवस्थापनले पाँच जना श्रमजीवी पत्रकारहरुलाई उनीहरुको पूर्ववत जिम्मेवारीमा फर्काए पनि हाजिरीमा समस्या उत्पन्न भएकोमा सो समस्याको समाधान गर्दै काममा लगाउने व्यवस्था गर्ने, साथै स्वैच्छिक अवकास लिन चाहने पत्रकारहरुलाई श्रमजीवी पत्रकार ऐन अनुसार सेवा–सुविधा उपलब्ध गराउने र चैत महिनादेखि बाँकी रहेको तलब उपलब्ध गराउने लगायतका दफागत बुँदा रहेको महासंघद्दारा जारी विज्ञप्तिमा उल्ल्ेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा प्रस्तुत सहमति संगै यसअघि महासंघले घोषणा गरेको आन्दोलनका पूर्व घोषित कार्यक्रम समेत फिर्ता लिएको जनाउदै भएगरेको सहमति आगामी ३० दिनभित्र पूर्ण पालना हुने कुरामा महासंघ विश्वस्त रहेको उल्ल्ेख गरिएको छ । साथै महासंघको आन्दोलनलाई साथ र सहयोग गर्ने महासंघका प्रदेश समिति, शाखाहरु, एसोसिएट सदस्य, सहयात्री पत्रकार संघ संगठनहरु लगायत सबैलाई महासंघ धन्यवाद समेत ज्ञापन गरेको छ ।