बिहिबार, बैशाख १३, २०८१

टेलिकमले शुक्रबारदेखि आइपी टिभी सञ्चालनमा ल्याउने

काठमाडौ पुस १५,
नेपाल टेलिकमले शुक्रबारदेखि आइपी टिभी सञ्चालनमा ल्याउने भएको छ । दुई वर्षदेखि तयारी गरेको टेलिकमले पुस १७ गतेदेखि एनटी टिभी ब्रान्डमा फाइबर टु दि होम [एफटिटिएच] मार्फत आइपी टिभी सेवा सञ्चालनमा ल्याउन लागेको हो ।

 हाल टेलिकमले एफटिटिएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकामा अब आइपी टिभी सेवा थप गर्न लागेको हो । कम्पनीको एनटी टिभी सेवाका लागि एफटिटिएच नेटवर्कको पहुँच भने अपरिहार्य हुनेछ । तत्कालका लागि उक्त सेवा काठमाडौं उपत्यकाभित्र सुन्धारा, बबरमहल, ठिमी, बलम्बु, भक्तपुर, चाबहिल, छाउनी र गोङ्गबु त्यस्तै गरि पाटन, हात्तीगौंडा, जोरपाटी, कीर्तिपुर, सैंबु, लुभू, नक्साल  संगै    टेलिकमको एफटिटिएच नेटवर्क पुगिसकेको  स्थानहरुमा उपलब्ध हुने जनाइएको छ ।

टेलिकमका प्रवक्ता राजेश जोशी हाल एफटिटिएच सेवामार्फत भ्वाइस तथा डाटा सेवा वा दुवै सेवा लिइरहेका ग्राहकहरुले एनटी टिभी सेवा प्राप्त गर्न नजिकैको नेपाल टेलिकमको कार्यालयमा सम्पर्क गर्नुपर्ने बताउँछन् । उनका अनुसार उक्त टिभी सेवा ग्रयोग गर्न ग्राहकले कम्पनीबाट सेटअप बक्स खरिद गर्नुपर्दछ भने हाल प्रयोगमा रहेको पुरानो तथा आधुनिक [नयाँ] टिभी सेटमा एनटी टिभी हेर्न सकिनेछ ।

विभिन्न राष्ट्रिय टिभी च्यानल तथा विदेशी च्यानलहरु उपलब्ध हुने एनटी टिभी सेवा विभिन्न प्याकेजमा वितरण हुने भन्दै आवश्यकता र उपयुक्तताअनुसार छनोट गर्न सकिने टेलिकमले जनाएको छ ।