शुक्रबार, चैत्र १६, २०८०

आज महाअष्टमी पर्व: शक्तिस्वरुपा महाकालीको विशेष पूजन सहित कालरात्री पर्व मनाइँदै

हनुमानढोकाको दशैंघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्री पुजन यस वर्ष स्थगन, श्रद्धालु भक्तजनहरुको वलीपुजनका लागि बिहानैदेखि दर्शनार्थीको घुईंचो लाग्ने गरेको शक्तिपिठ पनि सुनसान

काठमाडौं कार्तिक ८,

 आज बडादशैँको ८औं दिन महाअष्टमी पर्व शक्तिस्वरुपा महाकालीको पूजाअर्चना सहित मनाइँदैछ । विशेषगरी आज शक्तिस्वरुपा महाकाली महालक्ष्मी र महासरस्वतीको पूजा गरी रातमा कालरात्री पुजन गर्ने परम्परा रहि आएकोछ ।

आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्वका दिन मुलत दुर्गा भवानीको पूजा आजा गरी भब्यताका साथ शास्त्रसम्मतरुपमा दसैंघर, कोतलगायत राज्यका बिभिन्न शक्तिपीठमा पशु बली दिई दुर्गा भवानीको बिशेष पूजा आजा गरिन्छ । त्यसोत आजको दिन महागौरी र दुर्गा सप्तशती र देवी स्तोत्र पाठ पनि गरिन्छ । त्यस्तै पशुबली नचढाउनेहरुले भने आज पूजा कोठामा काँक्रो, घिरौंला, कुभिण्डो, मूला र नरिवल आदि बली चढाई पूजा आजा गर्ने गर्दछन् ।

पशुवलीको सवालमा भने विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बली दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको गरिएको छ ।

आजका दिन उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सड्कटा, वज्रबाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई लगायत मन्दिरहरुमा पनि बलीसहित पूजा आजा गर्नेहरुको बिहानैदेखि भीड लाग्ने गर्दछ ।

यसैगरी उपत्यका बाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलदुराको उग्रतारा, काभ्रपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती लगायतका शक्तिपीठहरुमा पनि बलीसहित पूजा आराधना गर्ने श्रद्धालु भक्तजनहरुको बिहानैदेखि दर्शनार्थीको घुईंचो लाग्ने गरेपनि आज भने सुनसान नै रहेको छ।

तर वर्ष ०७७ को महाअष्टमी पर्व मनाइदै गर्दा देशमा सिर्जित कोभिड महामारीका कारण शक्त्तिपीठमा बलि निषेध गर्दै सरकारले देशभरिकै शक्त्तिपीठ सार्वजनिकरुपमा खोल्न पनि अनुमति दिएको छैन । साथै महाष्टमीका दिन राति हनुमानढोकाको दशैंघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने गरिएकामा यस वर्ष स्थगन गरिएको हनुमानढोका हेरचाह अड्डाले जनाएको छ।