बिहिबार, चैत्र १५, २०८०

वीरगञ्जको गणेश अपार्टमेन्टमा प्रहरीको छापा, २२ किलो सुन बरामद

वीरगञ्ज कार्तिक १,
पर्साको वीरगञ्जबाट साढे २२ किलो सुनजस्तो देखिने धातु बरामद भएको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका–५,रेशमकोठीस्थित गणेश अपार्टमेन्टमा छापा मार्दा प्रहरीले उक्त परिणामको सुन जस्तो देखिने धातु बरामद गरेको हो । शंकास्पद धातु निलो प्लास्टिकमा पोको पारेर राखेको थियो । विशेष सूचनाको आधारमा छापा मार्दा अपार्टमेन्टको तेस्रो तल्लाको ३०३ नं. कोठामा उक्त धातु फेला परेको प्रहरीले जनाएको छ ।

भारत पूर्वी चम्मपारण हरैयाका अशोक सिन्हा बस्दै आएका अपार्टमेन्टको कोठाबाट प्रहरीले १ केजी दरका १३ पिस, मझौला विस्कुट ४६ पिस, साना विस्कुट एक सय ग्रामका १० पिस सुनजस्तो देखिने धातु लगायत गरगहना बरामद गरेको हो । उक्त धातु कसको हो र कहाँ लगिँदै थियो भन्नेबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।