बिहिबार, बैशाख १३, २०८१

राजधानीबाट गैंडाको खाग र कस्तुरीको विनाका तस्करत्रय पक्राउ

काठमाडौं कार्तिक ६ ,
महानगरीय अपराध महाशाखाले संरक्षित वन्य जन्तु गैंडाको खागसहित शिक्षण पेशामा आवद्ध ईनरुवा नगरपालिका वडा नं. ७ घर भई हाल काठमाडौं कपन बस्ने ४९ वर्षिय राजेन्द्र रिजाललाइ पक्राउ गरेको छ ।

महाशाखाको विशेष टोलीले गैंडाको खागको अवैध रुपमा कारोबार भईरहेको छ भन्ने सूचनाको आधारमा बिहिबार चुच्चेपाटी पासाङ ल्यामु चोकबाट उक्त खाग बिक्रि गर्न साथमा लिई हिंडिरहेको अवस्थामा रिजाललाई पक्राउ गरेको महाशाखालेजनाउदै   बरामद खाग र रिजाललाई पक्राउ गरि राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत आवश्‍यक अनुसन्धानको लागी जिल्ला वन कार्यालय हात्तीसार पठाईएको जनाएको छ ।

यसैवीच महाशाखाले काठमाडौं महानगरपालिका९१ दरबारमार्गस्थित सालिक चोकबाट प्रतिबन्धित कस्तुरीको विना सहित चिसापानी घर भई काठमाडौं बौद्ध बस्ने ३९ वर्षीय पासाङ लामा र सोही ठाउँ घर भई काठमाडौं डल्लु बस्ने ३६ वर्षीय राम कुमार लामा पनि पक्राउ गरेको छ ।
दरबारमार्ग क्षेत्रमा प्रतिबन्धित कस्तुरीको विना अवैध रुपमा किनबेच गर्नको लागि लुकाई छिपाई ल्याएको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाको उनीहरुलाई पक्राउ गरेको हो । उनीहरूबाट १ थान कस्तुरीको विना र ४ थान मोबाइलसमेत बरामद भएको प्रहरीले जनाएको छ ।