शुक्रबार, चैत्र १६, २०८०

यसै शैक्षिक सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गरिएको मन्त्रालयको प्रष्टोक्ती

काठमाडौं कार्तिक ३ ,
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मुलुकका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको स्पष्ट गरेको  छ ।मन्त्रालयका उपसचिव विदुरराज गिरीले आज जारी गर्नुभएको विज्ञप्तिमा ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६’ बमोजिम नयाँ पाठ्यक्रम लागू भएकामा केही विद्यालयले पुरानै पाठ्यक्रमअनुसार पठन पाठन गराउने तयारी गरेको गुनासो आएकाले नयाँ पाठ्यक्रमअनुसार नै विद्यार्थीको मूल्याङ्कन गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ।

त्यस्तै नयाँ पाठ्यक्रममा नयाँ विषयका रुपमा ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा’ लाई अनिवार्य विषयमा समावेश गरिएको छ । मन्त्रालयले नयाँ पाठ्यक्रमको कार्यान्वयनबारे अनुगमन गर्न स्थानीय तहलाई आग्रह पनि गरेको छ । नयाँ पाठ्क्रमबारे पाठ्यक्रम विकास केन्द्रले यसअघि सूचना जारी गरिसकेको छ । पाठ्यक्रमको मुद्रणीय प्रति प्रकाशन तथा शिक्षक अभिमुखीकरणको तयारी गरेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।