काठमाडौं असोज २७,
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड संक्रमणको जोखिम कायम नै रहेको निर्णय सहित आगामी कात्तिक मसान्तसम्म अन्तराष्ट्रिय सीमा नाका थप एक महिनाका लागि बन्द गर्ने निर्णयसंगै अन्तर्राष्ट्रिय उडानको अहिलेको कोटा प्रणालीलाई पनि कायमै राख्ने निर्णय गरेको छ ।
त्यस्तै मन्त्रिपरिषद्को बैठकले आन्तरिक यातायात र व्यवसाय सञ्चालनमा भने केही खुकुलो बनाएको छ । प्राप्त जानकारी अनुसार लामो दूरीका यातायातका साधनमा सिट क्षमताअनुसार नै यात्रु राख्न पाउने निर्णय गर्दै सरकारले आसन्न दशैं तिहार जस्ता चाडपर्व यथास्थानमा मनाउन समेत सर्वसाधारणलाई आग्रह गरेको छ ।