शुक्रबार, चैत्र १६, २०८०

शहीद, योद्धा र अपाङहरुप्रति राज्य गैर जिम्मेवार भएको आरोप

अरुणा मानन्धर/काठमाडौं साउन २२,

सामाजिक व्यवस्था परिवर्तनको लागि अर्को संघर्षको तयारीमा जुट्नुको विकल्प नरहेकोमा राजधानीमा आयोजित एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन । आज प्रेस सेन्टर नेपाल केन्द्रीय समितिद्धारा आयोजित ‘गणतन्त्र प्राप्तिका लागि शहीदहरुको भूमिका र राज्यको दायित्व’ विषयक छलफल कार्यक्रमका सहभागिहरुले त्यस्तो बताएका हुन ।

प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका अतिथि वक्ताहरुले हिजो जनन्यायीक व्यवस्था प्राप्तिका लागि आफ्नो जीवनको आहुती दिएका महान शहीद, अपाङ्ग र योद्धाहरुको सपना तत्कालिन नेतृत्वको सैद्धान्तिक विचलनसँगै ओझेलमा परेको औल्याए ।

कार्यक्रममा बोल्दै शहीद प्रतिस्थापन नेपालका पूर्व अध्यक्ष समेत रहेका वरिष्ठ अधिवक्ता एकराज भण्डारीले वास्तविक रुपमा आम नागरिकको आधारभूत समस्या हल हुने, जनन्यायीक व्यवस्था ल्याउने सपना देखेर गरिएको दशबर्ष जनयुद्धलाई नेतृत्वको गद्दारीका कारण दलाल संसदवादमा रुपान्तरण हुन पुगेको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै शहीद तथा वेपत्ता योद्धा परिवार समाजका प्रतिनिधि ज्ञानु खतिवडाले पनि वर्तमान राज्यव्यवस्थाले परिवर्तनको लागि लडेको शक्तिलाई आज अपमानीत गरेको बताए । शहीदहरुको सपनाको वर्तमान सरकारले हत्या गरेको उनले आरोप लगाए ।

त्यस्तै माओवादी केन्द्रका महासचिव, जनक्रान्तिका महान सहिद परिवार समाजका अध्यक्ष तथा पूर्व संसद कर्णजीत बुढाथोकीले पार्टीले तत्कालिन जनयुद्धले उठान गरेका मुद्दालाइृ खेरजान नदिनले प्रतिबद्धता जनाएको भन्दै केही दिनमा राज्यको अराजकता, भ्रष्टाचारी, जनतन्त्र, जनजीवीकाको समस्याबारे थप संघर्षका कार्यक्रम सार्वजनिक गर्ने तयारी रहेको बताए ।

कार्यक्रममा त्यस्तै क्रान्तिकारी पत्रकार संगठनका उपाध्यक्ष समेत रहेका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसी,अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझी नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा पूर्व जनमुक्ति सेनाका जुझारु योद्धा, अरुण घिसिङ लगायतले प्रस्तावित विषयमा आफ्नो धारणा राख्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।