शुक्रबार, चैत्र १६, २०८०

कोभिडको कहर, चाडपर्व र रहर

-रविना महर्जन-

चीनको हुवेइ प्रान्तको वुहानको एक बजारबाट सन् २०१९ मा देखापरेको कोभिड भाइरसले आज विश्व आक्रान्त छ। विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म कोभिड भाइरस नियन्त्रण र उन्मुलनको कुनै खोप र औषधि बनीसकेको अवस्था छैन। औषधि विज्ञानका विज्ञका अनुसार सामाजिक दुरी कायम गर्ने,मास्कको प्रयोग गर्ने,भिडभाड घुलमिलबाट टाढै रहने,साबुनपानीले हात धुने,सेनिटाइजर प्रयोग गर्ने गरे कोभिड नियन्त्रण गर्न सकिन्छ।संक्रमितले उच्च मनोबल राखे रोग प्रतिरोधात्मक क्षमताको वृद्धि हुने गर्दछ। यसैको कारण कोभिड लागि निको भएका उदाहरण हाम्रा अगाडि छर्लङ्ग छन् ।

एकदमै न्यून मानिसमा मात्रै कडा प्रकारको संक्रमण देखिने र मानिसको मृत्यु हुने कुरा चिकित्शकहरुले बताउँदै आएका छन् ।स्पेनिस फ्लु पछीको सबैभन्दा ठूलो मानिसको शत्रुको रुपमा कोभिडलाई लिन थालिएको छ।विश्व अर्थतन्त्रमा नै गम्भीर असर परेको विभिन्न अन्तराष्ट्रिय फोरमको सर्वेक्षण दिनानुदिन आइरहेको छ र यसले विश्व अर्थतन्त्रलाई अझ धेरै असर गर्ने आँकलन गरिएको छ।

नेपालमा यो लेख लेख्दा सम्म २८,२५७ भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ र नेपालभित्रै ११४ जना नेपालीले ज्यान गुमाइसकेको अवस्था छ।विदेशमा रहने हजारौँ नेपाली संक्रमित छन् र सयौँले ज्यान गुमाइसकेका छन् ।नेपाली अर्थतन्त्रमा महत्वपूर्ण क्षेत्र वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिटेन्स तथा वैदेशिक मुद्रा आर्जन गर्ने महत्त्वपूर्ण क्षेत्र पर्यटन दुबै ठप्प छन् ।

विश्वभरी नै बेरोजगारीको दर बढ्दो छ। लाखौँले रोजगारी गुमाउँदै गएका छन् ।कोभिडकै कारण नेपालका श्रमिकहरु पनि करिब पाँच महिनादेखि बेरोजगार छन् ।घरमा चूलो बल्न छोडेको छ। दैनिक ज्यालादारी मजदुरको बिचल्ली छ।बिहान बेलुका हातमुख जोर्न धौ धौ छ भने व्यवसायीको व्यवसाय  ठप्प छ। अर्कोतिर समयमा मल प्राप्त गर्न नसक्दा कृषि उत्पादन घट्ने संभावना दिनानुदिन उच्च बन्दै गएको छ । सम्पूर्ण उपभोक्तावर्ग महँगीको मारमा छन् ।कर्जाको भार, कर्मचारीको तलब भत्ता उपलब्ध गराउने, घर बहाल तिर्ने चिन्ताले धेरैले आत्महत्याको बाटो रोजेका छन् ।शहरमा बस्ने डेरावाललाई भाडा तिर्न समस्या छ।घरधनीको बिहान बेलुकाको कचकचले धेरैले कोठा छोडेर हिँड्नुपर्ने अवस्था दिनानुदिन बढ्दै गएको छ।

नेपालका मुख्य शहर काठमाडौँ,विरगंज,चितवन ,पोखरा लगायतका क्षेत्रमा संक्रमणको फैलावट उच्च बन्दै गएको छ। चार महिना लामो लकडाउनमा पनि सरकारले व्यापकरुपले समुदाय स्तरमा कोरोना परिक्षण गर्न नसक्नु तथा लकडाउन खुकुलो पार्ने दबाब थेग्न नसक्नु र विशेष गरि भारतसँग सिमा जोडिएका क्षेत्रबाट हुने आवातजावतलाई नियमन गर्न नसक्नुले गर्दा आज समुदायस्तरमा कोरोना फैलिन पुगेको छ र अब यो हाम्रो नियन्त्रणभन्दा बाहिर गइसकेको छ। नागरिकको गैर जिम्मेवारी र सरकारको वेवास्ता कोरोना फैलावटको मुख्य कारण हुन्।कोरोनाका कारण स्वास्थ तथा शिक्षा क्षेत्र अस्तव्यस्त छन् ।विद्यार्थी भाइ बहिनीहरु महिनौँ देखि घरमै निष्क्रिय बसिरहेका छन् ।अस्पतालमा शैय्या अभाव भएका छन् ।

यसवीचमा नागरिकले सरकारलाई साथ र सहयोग दिएमात्र कोरोना नियन्त्रण सम्भव छ नत्रभने तपाईं हामी आफ्नै परिवारका सदस्यहरु क९कसले गुमाउँदैछौँ त्यसको पश्चाताप गर्नुबाहेकको अर्को उपाय हुने छैन।त्यसैले समय नघर्किँदै सरकारका नीतिनियम अनुशरण गरौँ र सचेत रहौँ।तिनै तहका सरकार र सम्पुर्ण राजनितिक दलहरुले जनतालाई संयुक्त अपिल गर्दै कोरोना नियन्त्रणमा उच्च महत्व दिनुपर्छ।तहसनहस स्वास्थ क्षेत्रलाई सहयोग गर्न निजी अस्पतालहरुले सरकारलाई निसर्त सहयोग गर्नुपर्छ।

शिक्षा मन्त्रालयले सम्पूर्ण विद्यार्थीलाई विभिन्न भर्चुअल माध्यमबाट अध्ययन र अध्यापन गर्ने कार्यको तुरुन्त थालनी गर्नुपर्दछ ।यति गर्न सकिन्छ र गर्नुपर्छ। सत्तासिन दलको घर झगडाको व्यवस्थापनमा अहोरात्र खट्न सक्नेहरु जनताको विपत् व्यवस्थापनमा एकजुट हुनुपर्छ।अहिले को प्रधानमन्त्री हुने ? को पार्टी अध्यक्ष हुने ? अथवा प्रतिपक्षमा को सभापतिमा टिकिरहने ? को नयाँ आउने रु विषयमा दाउपेच रच्ने भन्दा पनि वर्तमानमा देखिएको कोभिड लाई कसरी नियन्त्रण गर्न सकिन्छ र गर्ने भन्नेमा केन्द्रित हुन जरुरी छ।कोरोनाले पुर्याएको क्षतिबाट विभिन्न क्षेत्रलाई कसरी पुरानै अवस्थामा फर्काउन सकिन्छ भन्नेमा अहिले देखि नै पुर्वतयारी विचार विमर्श गर्नु जरुरी छ।

हामीले कोरोनाकाल मै वर्ष २०७६ लाई बिदा गर्यौ ।शान्त,शिष्ट भएर घर मै बसेर नयाँ वर्ष २०७७ मनायौँ। त्यसैगरी इद ,गाइजात्रा,जनैपूर्णिमा, उधौली, उभौली पनि सामाजिक दुरी कायम गर्दै मनायौँ।अब नजिकिँदै गरेको तिज, दशैँ,तिहार तथा छ्ठ पर्व पनि सामाजिक दुरी कायम गरी जो जहाँ छौ त्यही बसी मनाउनु पर्ने अवस्था आएको छ।सरकार तथा अन्य राजनीतिक दल,नागरिक समाज आदिले आउने केही महिना कोरोना फैलावटलाई रोक्न चुनौती रहने हुँदा सबैले आ आफ्नो ठाउँबाट जे जस्तो अवस्थामा छौँ त्यसैमा चाडपर्व मनाउन अपिल गर्नुपर्दछ ।

जनस्तरसम्म मिडिया मार्फत प्रचार प्रसार गरिनुपर्छ र नागरिकले आफ्ना विभिन्न रहरलाई नियन्त्रण गर्दै सरकारको आदेशलाई शिरोधार्य गर्नुपर्ने देखिन्छ ।यसरी घरमै बसी भौतिक दुरी कायम गरी चाडपर्व मनाउन सकिन्छ।कोरोना कहरको समाप्ती तत्कालै सम्भव नदेखिएको हुँदा आफ्नो दैनिकीलाई कोरोना नियन्त्रणका सुरक्षित उपायहरु अपनाएर संचालन गर्नुपर्ने हुन्छ।घरमै बसौँ,अत्यावश्यक कामबाहेक बाहिर ननिस्कौँ,सुरक्षित रहौँ ।ज्यान रहे अन्य कुरा पछी हुँदै जान्छ।कोरोना छिट्टै जानेवाला छैन, सुरक्षित हिसाबले आफ्ना कार्य अगाडि बढाउँदै लैजानुको विकल्प छैन।

 [महर्जन -जनप्रशासन क्याम्पस केन्द्रिय विभाग, बल्खुमा   एम्.फिल अध्ययनरत विद्यार्थी  हुनुहन्छ]

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।