शुक्रबार, बैशाख ७, २०८१

१३औं गणतन्त्र दिवस: गणतन्त्रलाई थप सुदृढ तुल्याउन राष्ट्रपतिको आह्वान

काठमाडौ जेठ १५, १३औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई , राष्ट्रपति विद्यादेवी भण्डारीले हार्दिक बधाइ सहित सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले दिवसको अवसरमा जारी गर्नुभएको शुभकामना सन्देशमा ् देशमा लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका सङ्घर्षमा आफ्नो जीवन आहुति गर्ने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । गणतन्त्र स्थापनार्थ भएका आन्दोलनमा होमिएका सम्पूर्ण राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ता एवं आम जनताको योगदानको उच्च प्रशंसा गर्दै उहाँले गणतन्त्रलाई थप सुदृढ तुल्याउन हार्दिक आह्वानसमेत गर्नुभएको छ ।

त्यस्तै अपार जनसहभागितामा सञ्चालित ऐतिहासिक जनआन्दोलनको परिणामस्वरुप स्थापित जननिर्वाचित पहिलो संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको सुखद् स्मरण गर्दै उहाँले प्रत्येक वर्ष गणतन्त्र दिवस मनाउँदै आए पनि यस वर्ष कोरोना भाइरसको विश्वव्यापी महामारीबाट उत्पन्न विषम परिस्थितिका कारण औपचारिक कार्यक्रम आयोजना गर्न कठिनाइ उत्पन्न भएको उल्लेख गर्नुभएको छ ।

आजको यस ऐतिहासिक दिवसले सम्पूर्ण नेपालीहरूलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा यहाँ उपलब्ध प्राकृतिक सम्पदाको दिगो उपयोग गर्दै सामाजिक, आर्थिक र सांस्कृतिक रुपले सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुन प्रेरणा दिनेछ भन्ने विश्वास लिएको छु”, राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।  साथै उहाँले सङ्क्रमित विरामीहरूको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । ऐतिहासिक दिवसले सबै नेपालीहरूलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्प हासिल गर्न थप ऊर्जा प्रदान गरोस् भन्ने शुभेच्छा समेत प्रकट गर्नुभएको छ ।

यसैवीच गणतन्त्र दिवस–२०७७ का अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले जारी गर्नु भएको शुभकामना सन्देशमा भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता, राष्ट्रियता र राष्ट्रिय एकतालाई अझै सुदृढ् गर्दै लैजानुपर्नेमा जोड दिनुभएको छ ।

त्यस्तै सन्देशमा गणतन्त्र प्राप्तिका लागि हामीले जसरी एकताबद्ध भएर सङ्घर्ष ग-यौँ, हाम्रो भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रियताको रक्षा र सुदृढीकरणका लागि पुनः एकपटक राष्ट्रिय एकता प्रदर्शन गर्नुपर्नेछ” भनदै सन्देशमा गणतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका जनआन्दोलन, सशस्त्र सङ्घर्ष, जनयुद्ध र २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनमा जीवन वलिदान दिनुहुने सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उपराष्ट्रपतिले सङ्घर्षका क्रममा घाइते भएका योद्धाको स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ ।

सङ्घर्षका क्रममा बेपत्ता भएकाप्रति सम्मान व्यक्त गर्दै उपराष्ट्रपतिले बेपत्ताको अवस्था छिट्टै सार्वजनिकीकरणका लागि सबैको ध्यान जाने विश्वास व्यक्त गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।