बिहिबार, बैशाख १३, २०८१

रुकुम काण्डको विरोधमा सुदूरपश्चिममा प्रदर्शन , दोषीलाई कारबाहीको माग

  •  भिम बहादुर बिक

कैलाली जेठ १६ ,  रुकुम–जाजरकोट काण्डको विरोधमा नेकपा [माओवादी केन्द्र] सुदूरपश्चिम प्रदेशले कैलालीमा लकडाउनको बीचमा सामाजिक दुरी कायम गर्दै विरोध कार्यक्रम गरेको छ ।  रुकुम घटनामा मृतकहरु प्रति श्रद्धाञ्जली सहित घटनाको सत्य, तथ्य जानकारी सार्वजनिक गरि दोषीलाई हदैसम्मको कारबाहीको माग सहित माओवादी केन्द्रले आज कैलालीको बौनियामा विरोध कार्यक्रम गरेको हो ।

माओवादी केन्द्रका करिब एक दर्जन बढी जिम्मेवार नेताहरु मात्र सहभागि भएको उक्त विरोध कार्यक्रम आज दिउँसो बौनियास्थित स्कुल अगाडीबाट र्यालीसहित अघि बढेको थियो । विरोध र्याली बौनिया चोकमा पुगेर कोणसभामा बदलिएको थियो ।   कोणसभामा बोल्दै नेकपा [माओवादी केन्द्र]का पोलिटव्यूरो तथा सुदूरपश्चिम प्रदेश संयोजक लोकेशले उक्त घटनाले माओवादी जनयुद्धले विकास गरेको वर्ग संघर्षबाट प्राप्त गणतन्त्र र संविधानको गम्भीर अपमान दर्साएको बताए ।

माओवादी केन्द्र निकटको प्रेस सेन्टर नेपालका अध्यक्ष समेत रहेका उनले वर्तमान सरकारले जनयुद्धको गम्भीर अपमान गर्दै मुलुकमा छुवाछुत, विभेद जस्तो पुरातनवादी मान्यतालाई संरक्षण गरेकै कारण घटनाको वास्तविकता अहिलेसम्म गुमनाम बनाइएको आरोप लगाए ।

उनले मुलुकमा अहिलेसम्म पनि वर्गिय तथा जातीय विभेदका समस्याहरु विकराल बन्दै गएको प्रति खेद प्रकट गर्दै उक्त घटनाको यथार्थ अनुसन्धान गरी दोषी देखिने सबैलाई कडा सजायको माग समेत गरे । उनले लकडाउनको पर्दाभित्र स्थानीय प्रशासन, प्रहरी, जनप्रतिनिधि लगायतको मिलेमतोमा सामाजिक अपराधीहरुलाई जोगाउने खालका गतिविधिहरु पछिल्लो समय बढ्दै गएको भन्द्र त्यसमा ध्यान दिन सरकारलाई अनुरोध समेत गरे ।

उनले ओली सरकारले मुलुकको नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको विषय केबल लोकप्रियताको माध्यम नबनोस भन्दै नेपाली भूमि फिर्ताको लागि व्यवहारीक अभ्यास गर्न अनुरोध गरे । उनले नक्सा ल्याएसँगै ओली सरकारले राष्ट्रघाती एमसीसी ल्याउने हर्कत बढाउनुले उसको वास्तविकता छर्लङ्ग भएको बताए ।

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा [माओवादी केन्द्र] का उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज रंगनाथ ढकालले उक्त घटनाको विषयमा वर्तमान सरकार र रुकुम जाजरकोटका नेताहरु किन मौन रहेको भन्दै डबल नेकपा र अन्य संसदीय पार्टीहरुको भ्रामक राजनीतिकको चर्को आलोचना गरे ।

उनले २१ औं सताब्दीमा समेत समाजमा छुवाछुत जस्तो कुप्रथा कायम रहनु र अन्तरजातिय विवाहको विषयले यस्तो विकराल रुप लिनु अनौठो रहेको बताए । उनले घटनाका दोषीहरुलाई कडा सजायको माग गर्दै त्यसमा गम्भीर अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

त्यसैगरी उनले ओली सरकारको राष्ट्रघात, जनघात पछिल्ला घटना क्रमले प्रष्ट्याएको भन्दै महान जनविद्रोहको कार्यक्रम मार्फत सामाजिक रुपान्तरणको बाँकी कार्यभार सम्पन्न गर्न आम नागरिकमा आह्वान समेत गरे । उनले कालापानीबाट भारतीय सेना हटाउन ओली सरकारलाई सुझाव दिदै राष्ट्रियता, जनतन्त्र, जनजीवीकाका तमाम समस्याहरुको समाधानमा सरकारलाई गम्भीर बन्न उनले सुझाव दिएका थिए ।

कार्यक्रमको सञ्चालनका क्रममा नेता रतनले दलित समुदायमाथिको विभेद अहिले सम्म नरोकिएको भन्दै सम्पूर्ण शोसित, उत्पीडित जनसमूदायलाई संघर्षको प्रकृयामा जोडिन अपिल गरे । उनले रुकुम घटनाको कडा विरोध गर्दै पुन त्यस्तो प्रकारको घटना नदोहोरिने गरि दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने माग समेत राखे । कार्यक्रममा प्रदेश सचिवालय सदस्य टिकाराम, हिरा देवकोटा, सुकुम्बासी संगठनका कैलाली अध्यक्ष रामभरोसे थारु, महिला नेतृ लक्ष्मी, प्रेस सेन्टर नेपालका सुदूरपश्चिम अध्यक्ष भिम बिक लगायतको सहभागिता रहेको थियो ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।