बिहिबार, चैत्र १५, २०८०

भारतीयअतिक्रमण र मिचाहा प्रवृत्तिको सर्वत्र विरोध, नेपाल सरकार मौन

काठमाडौं बैशाख २७ , भारत सरकारले नेपाली भूमि लिपुलेक र कालापानीमा सडक बनाएको विरोधमा युवा विद्यार्थीले काठमाडौको माइतीघरमा प्रदर्शन गरेका छन् । भारत सरकारको उक्त कदम विरुद्ध प्रदर्शन गर्न माइतीघर पुगेका युवा विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा समेत लिएक छन । यस्तै भारतीय दुतावास अगाडी प्रदर्शनका लागि पुगेका विद्यार्थीलाई पनि प्रहरीले पक्राउ गरेको छ । लैनचौरमा रहेको दुतावास अगाडी प्लेकार्ड सहित प्रदर्शन गर्न पुगेका सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठनका नेताहरुलाई प्रहरीले पक्राउ गरेको प्राप्त जानकारीमा उल्ल्लेख गरिएको छ ।

यसअघि भारतले नेपालको दार्चुलाको लिपुलेक हुँदै तिब्बतको मानसरोवर जाने सडक मार्ग उदघाटन गरेकोमा नेपालका विभिन्न दल तथा नेताहरुले विरोध गरेका छन ।  त्यसक्रममा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले तत्काल कूटनीतिक तहबाट समस्याको हल खोज्न भनेका छन ।  पूर्व परराष्ट्रमन्त्रीद्दय कमल थापा ,प्रकाशचन्द्र लोहनीले सरकार मौन बसेको भन्दै आलोचना गरेका छन् । पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले सरकारले तत्काल पत्र लेखेरै त्यो रोक्न भन्नुपर्ने बताएका छन् ।

सत्तारुढ नेकपाका प्रवक्ता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अतिक्रमणविरुद्ध तुरुन्त कदम चाल्न सरकारलाई आग्रह गर्दै भारतले अनधिकृतरुपमा कब्जा गरेको र आफैंले समेत विवादित भनी स्वीकार गरेको पश्चिम सीमा क्षेत्रको नेपाली भूमिमा सडक बनाएको भन्दै उनले आपत्ति जनाएक छन । नेकपाका केन्द्रीय सदस्य विष्णु रिजाले पनि सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने र कूटनीतिक माध्यमबाट सुल्झाउन पहल थाल्नुपर्ने बताएका छन ।

त्यस्तै कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का गगन थापा ,विश्वप्रकाश शर्मा लगायतले भारतीय अतिक्रमण र मिचाहा प्रवृत्तिको प्रतिवाद गर्न सरकारलाई आग्रह गरेका छन् । साझा पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका दलले विज्ञप्ति निकालेर नेपाली भूमि लिपुलेकबाट भारत फर्कनुपर्ने बताएका छन् । सरकारले भने अहिलेसम्म औपचारिक धारणा सार्वजनिक गरेको छैन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।