बिहिबार, बैशाख १३, २०८१

भक्तपुरमा २ जना कोभिड संक्रमण भेटिएसंगै प्रशासनले गर्यो कडाइ, घरबाहिर निस्कन समेत निषेध

संक्रमित भेटिएको घर र आसपासका करिब २० घरलाई सिल गर्दै मध्यपुरथिमि नगरपालिकामा उच्च सतर्कता अपनाइदै

काठमाडौं बैशाख ३१ , भक्तपुरमा २ जना कोभिड संक्रमण भेटिएसंगै भक्तपुर जिल्ला प्रशासन कार्यालयले भक्तपुरमा घरबाट बाहिर निस्कन निषेध गरिएको छ ।भक्तपुरमा सुनसरीबाट आएकी महिला र रामेछापबाट आएका पुरुष गरी दुईजनामा संक्रमण देखिएको हो ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरमा आज प्राप्त जानकारी अनुसार भक्तपुर जिल्ला प्रशासन कार्यालयमा आज भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको संयोजकत्वमा बसेको जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णगरेको उल्लेख गरिएको छ।

त्यस्तै बैठकले थप सङ्क्रमण फैलिन नदिन लकडाउनलाई कडाइका साथ लागू गर्ने अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन नदिने , अत्यावश्यक वस्तुबाहेक व्यापार, व्यवसाय, उद्योग कलकारखाना सञ्चालनमा रोक लगाउने र भक्तपुरबाट अन्यत्र जान यसअघि जारी गरिएका सबै सवारी पास खारेज गर्दै सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरेको छ ।

साथै जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, वीरदल गण सूर्यविनायक व्यारेकका प्रमुख सेनानी शिवप्रसाद पौडेल, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमलगायत ४ वटै नगरपालिकाका प्रमुखको उपस्थिति रहेको उक्तबैठकले भक्तपुर प्रवेश गर्ने र बाहिर जाने अत्यावश्यक बाहेकका व्यक्ति तथा सवारीसाधन निषेध गर्ने, स्थानीय र सरोकारवाला निकायबाट खाद्यान्न तथा आपूर्तिको व्यवस्थापन एवं नियमन गर्ने, विपन्न एवं गरिबसहित खाद्यान्न अभाव भएकालाई राहत उपलब्ध गराउने सङ्क्रमित व्यक्तिको यात्रा विवरणका आधारमा तत्काल कन्ट्रयाक्ट ट्रेसिङ गर्ने, उनीहरुको बासस्थान सिल गर्ने, उनीहरुका परिवारका सदस्यको तुरुन्त कोरोना परीक्षण र आवश्यक परे आइसोलेसनमा राखेर उपचार गर्ने समेत निर्ण गरेको थाहा भएको छ ।

यसैवीच बैशाख २९ गते सुनसरीबाट आएर मध्यपुरथिमि नगरपालिका शङ्खधर चोकस्थित साथीको कोठामा बसेकी एक २५ वर्षीया महिलालाई कोरोना सङ्क्रमण पुष्टि भएसंगै त्यस क्षेत्रका करिब २० घरलाई प्रहरीले सिल गर्दै मध्यपुरथिमि नगरपालिकाले उच्च सतर्कता अपनाउँदै मुख्य दुईवटा सडकबाहेक सबै सडक बन्द गर्ने भएको छ ।

नगरपालिकाको आज आकस्मिकरुपमा बसेको कार्यपालिका बैठकले लकडाउनलाई कडाइ गर्नुका साथै सडक, पसल पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अरनिको राजमार्ग खण्ड र पेप्सिकोला सानोठिमी हुँदै भक्तपुर जाने सडकबाहेक नगरपालिकाभित्रका अन्य सम्पूर्ण सडक बन्द गर्ने निर्णय गरेको बताए ।

 त्यस्तै पानी, खाद्यान्न, एम्बुलेन्स, दमकललगायत अत्यावश्यक सवारीसाधनबाहेक अरुलाई प्रवेश निषेध गरिएको छ, बाहिरबाट आएका नयाँ मान्छेलाई मध्यपुरथिमि प्रवेशमा पूर्णरुपमा रोक लगाउनुको अलावा बिहान ९ बजेसम्म मात्रै तरकारी बजार खोल्न पाउने, खाद्यान्न, औषधि, ग्यास, पानीजस्ता अत्यावश्यकबाहेकका सम्पूर्ण पसल बन्द गरिने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।