शनिबार, बैशाख ८, २०८१

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा प्र.ना.नि घर्ती सहित ५ को मृत्यु

काठमाडौं जेठ १३,  भक्तपुर, सप्तरी, धनुषा र मोरङका छुट्टाछुटै स्थानमा सोमबार साँझ भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । भक्तपुर, मध्यपुर ठिमी नगरपालिका ४ नयाँ ठिमी चोकमा काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेका बा ४ ख ४७०१ र बा ४ ख ४३१८ नम्बरका दुई टिपरको ठक्करबाट दाङ रामपुर घर भएका महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरमा कार्यरत रही नयाँ ठिमी चोकमा सिआरभी ड्युटीमा खटिएका प्रहरी नायब निरीक्षक निम बहादुर घर्तीको मृत्यु भएको हो ।
ती टिपरहरुले नयाँ ठिमी बालकुमारी चोकको बिचको रेलिङमा एकैसाथ ठोक्किएर अनियन्त्रित भई अगाडि बढ्ने क्रममा प्रहरी नायब निरीक्षक घर्तीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार ठक्करबाट गम्भीर घाइते भएका उनको मध्यपुर ठिमी अस्पताल भक्तपुरमा प्राथमिक उपचार पश्चात् नर्भिक अस्पताल थापाथलीमा थप उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । ठक्कर दिने टिपर चालक बस्ने ४४ वर्षीय राकेश सैँजु र बा ४ ख ४७०१ नम्बरको टिपर चालक बस्ने ४० वर्षीय राजेन्द्र प्याकुरेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । बा.४ ख ४३१८ नम्बरका टिपर चालक सैँजुले मादक पदार्थ सेवन गरी टिपर चलाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

त्यस्तै सप्तरी खड्क नगरपालिका ६ चकुवास्थित सडकमा नम्बर नभएको पावर डिलर तीन पाङग्रे ट्याक्टर अनियन्त्रित भई पल्टिन जाँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ७५ वर्षीय गुदीलाल चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिरहाको लहानस्थित त्रिशक्ति अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै धनुषा सबैला नगरपालिका १२ स्थित सडकमा हाल नम्बर नखुलेको अन टेष्ट ट्याक्टरले ठक्कर दिँदा सोही ठाउँ बस्ने ४२ वर्षीया सुमिन्द्र देवी साह बाटोमै मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ सुन्दरहरैचा नगरपालिका ९ झरनापुलस्थित सडकमा को ३ प ९७६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घट्ना हुँदा मोटरसाइकल चालक वर्षीय गोबिन्द बजगाईको मृत्यु भएको छ । साइकल जोगाउने क्रममा भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी मोरङ, केराबारी गाउँपालिका९९ स्थित सडकमा को.३८ प १०७१ नम्बरको मोटरसाइकल सोमबार राति बाटोमा ढली राखेको रुखको हाँगामा ठक्कर खाई दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३० वर्षीय विकाश गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।