बिहिबार, बैशाख ६, २०८१

कोभिड संक्रमण निवारणका लागि त्रिपिटक वाचन गर्दै ११ वर्षिय बालक श्रीदिप

  • जगत प्रजापति

भक्तपुर जेठ १६ , त्रिपिटक बुद्ध धर्मको सबैभन्दा ठूलो मूल ग्रन्थ हो । भगवान बुद्धले बुद्धत्व प्राप्ति पछि ४५ वर्षसम्म विभिन्न स्थानमा दिनुभएको उपदेशको संग्रह त्रिपिटक हो । पाली भाषामा लेखिएको यो महाग्रन्थका केही भाग हरेक दिन नेपालका विभिन्न विहार लगायत अन्य स्थानमा पाठ गर्ने गरिएतापनि यसको शुरुवात देखि क्रमवद्ध पाठ गरिएको सुनिन्दैन । तर ललितपुर जोम्बहाल घर भई हाल ललितपुरकै प्रयागपोखरीमा बस्दै आएका ११ वर्षिय बालक श्रीदिप शिल्पकारले त्रिपिटक खरर वाचन गर्नु हुन्छ ।

गत अप्रिल २६ तारिख देखी ब्रम्हजाल सुत्त वाचन गर्दै त्रिपिटक वाचन शुरु गरेका श्रीदिपले सामाञ्ञफल सुत्त, अम्बट्ठ सुत्त, सोणदण्ड सुत्त, कुटदन्त सुत्त, महालि सुत्त, जालिय सुत्त, महासीहनाद सुत्त, पोट्ठपाद सुत्त वाचन गरिसक्नु भएको छ । पालि र नेपालभाषामा सँगसँगै वाचन गर्दै आउनु भएका श्रीदिपले हाल सुभ सुत्त पाठ गर्दै हनुहुन्छ । उहाँको वाचन सामाजिक सञ्जाल फेसबुक पेज  https://www.facebook.com/shreedip.shilpakar.3 मा दिउँसो १ बजेबाट प्रत्यक्ष हेर्न सकिन्छ ।

यसअघि विलक्षण प्रतिभाका धनी श्रीदिपले पालि भाषाकै महापरित्राण पाठ पनि १० दिन वाचन गरेर सम्पन्न गरिसक्नु भएको छ । उनले ललितपुरकै युवक बौद्ध मण्डल स्कूलबाट कक्षाको ५ को अन्तिम परीक्षामा उत्तीर्ण भएका श्रीदिप हालको लकडाउन खुलेपछि कक्षा ६ मा अध्ययन गर्ने तयारीमा हुनुहुन्छ । श्रीदिप सानै उमेरदेखी बौद्धधर्म तथा ज्ञानका बारेमा अत्यन्त जिज्ञासु रहेको उनको ठूलाीआमा सुनिता शिल्पकारले बताउनुभयो । श्रीदिपले विशेष गरी ठूलो बुबा जितेन्द्रराज शिल्पकारको मार्गदर्शनमा बौद्धधर्मको ज्ञान हासिल गर्दै आइरहनु भएको छ । उनको बुद्धप्रतिको लगाव देखेर नै उनलाई युवक बौद्ध मण्डलमा अध्ययनको लागि पठाएको ठूलीआमा सुनिताले जानकारी दिनुभयो, जहाँ बुद्धधर्मको ज्ञानमा आधारित परियत्ति शिक्षा पनि पढाइन्छ । श्रीदीपको जिज्ञासु स्वभावले गर्दा नै सानो उमेरमै यति ठूलो ग्रन्थ वाचन गर्न सफलता पाएको सुनिताले बताउनुभयो ।

श्रीदीपले कोरोना भाइरस संक्रमणको दुःखबाट विश्व समुदाय बाहिर आउन सकोस भन्ने सदिच्छा सहित जारी लकडाउनमा हरेक दिन दिउँसो १ बजे सामाजिक सञ्जाल फेसबुकबाट बौद्ध महाग्रन्थ त्रिपिटक वाचन गरिरहनु भएको छ । उनको वाचनशैलीलाई धेरै दर्शक श्रोताले मन पराई रहेका छन । उनको प्रतिभा देखेरै त्रिपिटक ग्रन्थलाई नेपालभाषा तथा नेपालीभाषामा अनुवाद गर्दै आउनु भएका अनुवादक प्रसिद्ध बौद्ध बिद्धान दुण्डबहादुर बज्राचार्यले श्रीदीपलाई मायाको चिनो स्वरुप केही पुस्तक समेत उपहार दिनु भएको छ ।

‘करीब ३० बर्षअघि भिक्षु अमृतानन्द भन्तेको दिवंगत पछि स्वयम्भूमा दिवंगत भिक्षु सुदर्शन महास्थविरले मिनि संगायना जस्तै गर्नु भई भिक्षुसंघसहित नेपालभाषामा त्रिपिटकको दीघनिकाय पाठ गर्नुभएको थियो । यतिका लामो समयपछि नेपालभाषामा एकजना बालकले त्रिपिटकको सुत्तपिटक अन्तर्गत दीघनिकाय पाठ गर्दै गरेको सुन्न पाउँदा निकै खुशी लाग्यो ।’ उक्त दीघनिकायका अनुवादक बज्राचार्यले भन्नुभयो । यस्तो त्रिपिटक वाचन निरन्तर हुनैपर्ने कार्य हो तर नेपालमा भइरहेको छैन । यस्तो अवस्थामा लकडाउनको बेला श्रीदिपको प्रयास निकै प्रशंसनीय रहेको उहाँले बताउनुभयो ।

त्यस्तै विश्व शान्ति विहारका भिक्षु बोधिज्ञान महास्थविरले श्रीदिपको वाचन धेरै सरहानीय रहेको, र यसले अरुलाई पनि त्रिपिटक अध्ययन र वाचनका लागि प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले श्रीदिपलाई हामी सबैले हौसला दिनुपर्छ र यसकिसिमको कार्य निरन्तर भइरहनुपर्नेमा जोड दिनुभएको छ । त्यस्तै हाल अमेरिकामा बसिरहनु भएका भिक्षु पञ्ञालोक महास्थविरले त्रिपिटक वाचनको लाइभ भिडियो हेरिसक्नु भएपछि फेसबुकमा कमेन्ट गर्नुभयो ‘श्रीदिप शिल्पकार दारकसस, तिपिटक वाचनं अति सुन्दरंति मञ्ञामि । साधु साधु साधु’ ।

साथै प्रत्यक्ष वाचन हेरिरहनु भएका कतिपय दर्शकहरुले बुद्धशासन चीरस्थाईका लागि श्रीदिप एक सक्षम व्यक्तित्व बन्ने आशा व्यक्त गरेका छन ।
स्मरणीय रहोस, नेपालमा पनि त्रिपिटक वाचन हुनुपर्छ भनेर दुइ वर्षअघिदेखि लुम्बिनीमा शुरु भएको प्रथम तथा दोश्रो अन्तराष्ट्रिय तिपिटक च्यान्टिगका क्रममा पालि त्रिपिटकका केही अंशहरु नेपाल लगायत विभिन्न मुलुकका थेरवाद, महायान र बज्रयानका भिक्षु एवं गुरुले वाचन गर्नुभएको थियो ।

श्रीदिपले गत बर्षको माघ महिनामा शंखमूलस्थित अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रबाट आयोजना गरेको पाँचदिने बाल ध्यान शिविरमा भाग लिएर ध्यानको ज्ञान समेत प्राप्त गरिसकेका छन । भविष्यमा बुद्ध शिक्षा र ज्ञानमा दक्ष बनेर ज्ञान र ध्यानको अभ्यास गर्दै आफूपनि दुःखबाट मुक्त हुने र समाजलाई पनि दुःखबाट मुक्त बनाउन बुद्धधर्मको प्रचार प्रसार गर्ने श्रीदिप बताउँछन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।