शनिबार, बैशाख ८, २०८१

प्रारम्भिक प्रतिवेदनको निष्कर्ष : प्रदेश न १ र २ मा सङ्क्रमणको उच्च जोखिम मोलेर पेशागत दायित्व निर्वाह गर्दै पत्रकार

काठमाडौं बैशाख १८ , नेपाल पत्रकार महासङ्घ र प्रेस काउन्सिल नेपालले कोरोना सङ्क्रमित जिल्लाको संयुक्त अनुगमन पछि आज जिल्लाको वस्तुस्थित सहितको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ ।  सार्वजनिक प्रतिवेदनमा कोभिड–१९ सङ्क्रमण देखिएका जिल्ला मध्ये सबैभन्दा बढी सङ्क्रमित रहेको उदयपुरको भुल्के क्षेत्रमा पत्रकारले आवश्यक स्वास्थ्य सामग्रीको अभावमा उच्च जोखिम मोलेर पत्रकारिता गरिरहेका पाइएको उल्लेख गरिएको छ ।

त्यस्तै प्रतिवेदनमा नेपालमा सबैभन्दा बढी प्रदेश नं .१ को उदयपुर त्यसपछि प्रदेश नं. २ को पर्सा र बारामा सङ्क्रमण देखिएको जिकिर गर्दै पारिवारिक दबाब र सङ्क्रमणको जोखिम मोल्दै जनतालाई सुसूचीत गराउने दायित्वलाई उदयपुरका सञ्चारकर्मीले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको अनुगमनका क्रममा पाइएको उल्लेख गरिएको छ ।

यद्यपी पत्रकारहरुको स्वास्थ्य परीक्षणको व्यवस्था गरेको नपाइएको र महासङ्घ र काउन्सिलको टोलीसमक्ष त्यहाँका सञ्चारकर्मीहरुले आफूहरु उच्च जोखिममा रहेको, स्वास्थ्य सामग्री लगायतका स्रोतसाधनको अभाव रहेको, जोखिम मोलेर काम गरिरहेका सञ्चारकर्मीलाई सरकार र सम्बन्धित सञ्चार गृहले कुनै सहुलियत नदिएको र स्वास्थ्य परीक्षणको व्यवस्था समेत नभएको जस्ता समस्या व्यक्त गरेको महासंघका महासचिव रमेश विष्टले जारी गर्नु भएके विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा सङ्क्रमणको त्रासदीपूर्ण अवस्थामा काम गरिरहेका पत्रकारका लागि सरकारले तत्काल राहत तथा सहुलियतको व्यवस्था गर्नुपर्ने माग सहित तत्काल पत्रकारहरुको स्वास्थ्य परीक्षणको व्यवस्था गर्न र सञ्चार गृहहरुले पत्रकारलाई नियमित पारिश्रमिक उपलब्ध गराउनुका साथै विशेष प्रोत्साहनको व्यवस्था गर्नुपर्ने देखिन्छ भने स्वास्थ्य बीमाको व्यवस्था, स्थानीय सञ्चारमाध्यमको सञ्चालनमा विशेष राहत र सहुलियतको व्यवस्था गर्नुपर्ने निष्कर्ष प्रतिवेदनमा उल्लेख गरिएको छ । महासङ्घका महासचिव विष्टको नेतृत्वमा प्रेस काउन्सिल नेपालका सदस्य ईश्वरी ओझा सम्मिलित टोलीले स्थानीय पत्रकारहरुसँग जिल्लाको समग्र अवस्थाका बारेमा अन्तरक्रियासमेत गरेको उल्लेख गरिएके छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।