बिहिबार, बैशाख १३, २०८१

मन्त्रिपरिषद् बैठक: एक साताका लागि अन्तर्राष्ट्रिय सीमा नाका बाट यात्रु आवागमन निषेध

रु ५० करोडको आकस्मिक कोष स्थापना, राष्ट्रसेवक कर्मचारी, व्यवसायी, समाजसेवी, सङ्घसंस्था र व्यक्तिलाई उक्त कोषमा सहयोगका लागि आह्वान

काठमाडौ चैत ९ ,मन्त्री परिषदको आज साँझ बसेको बैठकले कोभिड–१९ को सम्भावित सङ्क्रमणको जोखिम नियन्त्रण र रोकथामका लागि एक साताका लागि अन्तर्राष्ट्रिय सीमा नाकाबाट यात्रु आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सोमबार बिहान १० बजेदेखि चैत १६ गतेसम्म लागू हुने गरी एक साताका लागि अन्तर्राष्ट्रिय सीमाका सबै प्रवेश नाकाहरूबाट यात्रु आवागमन बन्द गर्ने निर्णय गरेको हो ।

साथै बैठकले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सम्बन्धमा कोष निर्माण गर्ने र त्यो कोषमा सरकारले रु ५० करोडको कोष खडा निर्णय संगै प्रस्तुत कोषमा सङ्घीय सरकारका मन्त्रीहरूले १ महिनाको तलब राख्ने र यो कोषमा राष्ट्रसेवक कर्मचारी, व्यवसायी, समाजसेवी, सङ्घसंस्था र व्यक्तिलाई उक्त कोषमा सहयोगका लागि आह्वान गर्ने निर्णय गरेको छ ।  त्यस्तै प्रस्तुत कोषबाट कोरोनासँग सम्बन्धित क्षेत्रमा पूर्वाधार तयार, स्वास्थ्य सामग्रीको आपूर्ति र सम्भावित भोलिका स्वास्थ्यसम्बन्धी जोखिम निराकरण गर्ने गरी प्रयोग गर्ने गरी कार्यविधि बनाउने निर्णय भएो सरकार प्रवक्ता एवम् अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिनु भएको छ ।

सरकारले अत्यावश्यक सार्वजनिक सरकारी क्षेत्रका सबै कर्मचारी नियमित काममा आउने र सेवाहरू नियमित रूपमा सञ्चालन हुने जानकारी संगै कोरोनाबाट सङ्क्रमण भइहालेको खण्डमा उनीहरूको उपचारका लागि चन्द्रागिरि नगरपालिकास्थित सशस्त्र प्रहरी बलको अस्पताललाई ‘डेडिकेटेड’ अस्पतालका रूपमा रुपान्तरण गरी व्यवस्थापन गर्ने निर्णय संगै स्वास्थ्य सेवाको ‘फ्रन्ट डेस्क’मा परिचालित हुने सबैलाई उत्प्रेरणास्वरुप ५० देखि शत्प्रतिशतसम्म प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । साथै बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नियमित रूपमा बैठक बसेर बजारको आपूर्ति व्यवस्थाको अनुगमन गर्ने, आपूर्ति सहज तुल्याउने र बजारमा वस्तु अभाव हुन लागेमा भण्डारणलाई व्यवस्थित गर्दै कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेलाई तत्काल कानूनी दायरामा ल्याएर सजाय गर्ने कार्यलाई अघि बढाउने जिम्मेवारी दिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।