बिहिबार, बैशाख १३, २०८१

घरमै बसेर आफू र आफ्नो परिवारको अमूल्य जीवनको रक्षा गर्न राष्ट्रपति भण्डारीको आह्वान

काठमाडौं चैत १२ , राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसले विश्वव्यापी महामारीको रूप लिएकाले वर्तमान संवेदनशील अवस्थालाई ध्यानमा राख्दै सबै नेपालीलाई आआफ्नै घरमा बस्न आह्वान गर्नुभएको छ । कोभिड–१९बाट उत्पन्न विश्वव्यापी महामारीको रोकथामको सन्दर्भमा सन्देश जारी गर्दै उहाँले सबै नागरिकलाई सरकारका आधिकारिक निकायले जारी गरेका निर्देशन पालना गरेर घरमै बसेर आफू र आफ्नो परिवारको अमूल्य जीवनको रक्षा गर्न आग्रह गर्नुभएको हो ।
त्यस्तै जारी सन्देशमा उहाँले कोरोना भाइरसले मानव सभ्यता र मानिसको अस्तित्वमाथि नै विश्वव्यापी चुनौती खडा गरेको यस जटिल परिवेशलाई निस्तेज पार्ने अभियानमा सबैलाई एकजुट भई अघि बढ्न आग्रह गर्दै सरकारद्वारा कोरोनाको सङ्क्रमण रोक्नका लागि लागू गरिएको ‘लकडाउन’का अवधिमा घरमै बस्नु परेको अवस्थालाई सिर्जनात्मक, रचनात्मक र उत्पादनमूलक बनाउन सकिनेसमेत उल्लेख गर्नु भएको छ ।  साथै  यस महामारीबाट हालसम्म विश्वका प्रायः सबैजसो मुलुक प्रभावित हुनाका साथै चार लाखभन्दा बढी जनामा सङ्क्रमण भई १८ हजारभन्दा बढीको निधन भइसकेकाले संयमित बन्दै घातक भाइरसका विरुद्धको अभियानलाई सुदृढ तुल्याएर अमूल्य मानव जीवनको रक्षार्थ सम्बद्ध सबै पक्षलाई आआफ्ना ठाउँबाट क्रियाशील हुन आह्वानसमेत गर्नुभएको छ । 

आजसम्म कोभिड –१९ विरुद्धको प्रभावकारी औषधि र खोप विकास भइनसकेको र आर्थिक रूपमा सम्पन्न एवं सुदृढ स्वास्थ्य प्रणाली भएका विकसित मुलुकलाई समेत यो महामारी नियन्त्रण गर्न कठिनाइ भइरहेका सन्दर्भमा रोगको सङ्क्रमणको रोकथाममा नै हाम्रा प्रयास केन्द्रित हुनुपर्ने भन्दै राष्ट्रपतिले भाइरसको सङ्क्रमणलाई रोक्नका लागि सामाजिक दूरी कायम गर्दै सरसफाइसहित घरमा बस्नु नै उत्तम विकल्प हुने बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।