शनिबार, बैशाख ८, २०८१

अफवाहको पछि लाग्दै उपभोग्य वस्तुको भण्डारणमा हतार नगर्न सरकारको आग्रह

काठमाडौं फागुन २४ , सरकारले अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै समस्या नभएकाले अफवाहको पछि नलाग्न र भ्रममा परेर सञ्चयको लागि उपभोग्य वस्तुको खरिद र नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । कोरोना भाइरसको बढ्दो विश्वव्यापी प्रभावसंगै बजारमा अत्यावश्यक दैनिक उपभोग्य वस्तुको आपूर्ति ठप्प हुने भन्ने जस्ता हल्लाको पछि लाग्दै दैनिक उपभोग्य अत्यावश्यक वस्तुको भण्डारका लागि खरिद गर्ने प्रवृतिका कारण  बजारमा कालाबजारी बढेको निष्कर्ष सहित गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो ।

त्यस्तै जारी विज्ञप्तिमा मन्त्रालयले आम सञ्चारमाध्यामलाई सत्यतथ्य समाचार सम्प्रेषण गर्न र जनमानसमा त्रासदीपूर्ण अवस्था सिर्जना हुन नदिन अपिल गर्दै समाजमा त्रासको वातावरण सिर्जना गर्दै कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीको जानकारी दिन समेत आम नेपालीलाइलाइ आग्रह गरेको छ ।

साथै कोरोना भाइरसको सङ्क्रमण नेपालमा नरहेको पक्षतर्फ सर्वसाधारणलाई आश्वस्त पार्दै भाइरस संक्रमित नेपालमा आउनसक्ने उच्च जोखिम रहेकोतर्फ सचेत गराउँनुको अलावा यसको लागि आवश्यक सावधानी अपनाउँन आग्रह समेत गरेको छ ।

त्यस्तै मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्दारा हस्ताक्षरित विज्ञप्तिमा बढी भीडभाड हुने सभा, सम्मेलन, कार्यक्रममा कोरोना भाइरसको जोखिम हुने भएकाले हाल यस्ता कार्यक्रम स्थगन गरेको जानकारी दिँदै होली पर्वका अवसरमा विगतमा झैँ भीडभाड र भेलामा जम्मा हुने, लोला हान्ने, रङ, अबिर दल्ने कार्य जोखिमपूर्ण रहेकाले उक्त कार्य नगर्न र नगराउनसमेत गृहमन्त्रालयले अनुरोध गरेको छ । भीडभाडमा जाँदा कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्ने भन्दै सरकारले सावधानी अपनाउन सर्वसाधारणमा अनुरोध संगै यसको रोकथामका लागि सरकार हरेक उपाय अवलम्बन गर्ने प्रतिबद्ध रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।