शुक्रबार, चैत्र १६, २०८०

विविध कार्यक्रम सहित आज सेना दिवस मनाइयो

काठमाडौ फागुन ९,  महाशिवरात्रीको अवसरमार आज नेपाली सेनाले विविध कार्यक्रम गरी सेना दिवस मनाउँदैछ । नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँन थालेको हो ।
सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष कार्यक्रममा नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिको रुपमा सहभागी हुनुहुनेछ । सैनिक मञ्च टुँडिखेलमा आयोजना हुँने यस कार्यक्रममा शिवरात्रि परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजीलगायत विविध कार्यक्रम हुने सैनिक मुख्यालले जनाएको छ।
नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम सहित मानवाधिकारको विश्वव्यापी मान्यतालाई आत्मसात गर्दै राष्ट्रिय सुरक्षाको अलावा पछिल्ला वर्षहरुमा विपद् व्यवस्थापन र विकास निर्माणका कार्यमा समेत प्रमुख महत्वपूर्ण काम गर्दै नेपाल सेनाले मुलुकमा मात्र होइन, अन्तरराष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल हुँदै आएको छ ।

यसैवीच राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जलि अर्पण गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गर्नुभयो । कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही–२०७६’ नामक वार्षिक पत्रिकाको विमोचन गर्नुका साथै ‘फ्री फल जम्प’मा प्रथम हुने हुद्दा लक्ष्मण बजगाईं र दोस्रो हुने जमदार राम बस्नेतलाई पुरस्कार एवं प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नाका साथै ‘सेना दिवस–२०७६’ लेखिएको ब्यानर प्रदर्शन गरेको थियो । कार्यक्रममा नेपाली सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ गरेको थियो । बढाइँ कवाजअन्तर्गत लहरे र एकट्ठा प्रस्तुत गरियो । त्यस्तै सैनिक र नेपाली परम्परागत वेषभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, प्रधानन्याधीश सभामुख र राष्ट्रियसभाका अध्यक्ष उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसहित मन्त्रिगण, सांसद, संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिको उपस्थिती रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।