शुक्रबार, बैशाख १४, २०८१

टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ प्रहरी कर्मचारीलाई निलम्बन गर्न सिफारिश

 काठमाडौ फागुन १४, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ प्रहरी कर्मचारीलाई निलम्बन गर्न सिफारिश गरेको छ ।

आयोगद्दारा जारी विज्ञप्तिमा चीनको केरुङबाट नेपाल आउँदै गरेको ना ६ ख ४९३२ नम्बरको कन्टेनर जाँच गर्नेक्रममा गत पुस ११ गते चालक फुर्वा पासाङको साथबाट ४२२ ग्राम सुन लिई चालकलाई छाडेको र उक्त सुन आवश्यक कानूनी प्रक्रियाका शुरु गरि सम्बन्धित निकायमा बुझाउनुपर्नेमा निजहरुले लुकाइ छिपाइ एक आपसमा बाँडफाँड गरी लिएको आरोपमा आयोगले उनीहरुलाई निलम्बन गर्न प्रहरी मुख्यालयलाइ सिफारिश गरेको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा पदमा वहाल रहँदा आफ्नो विरुद्धको प्रमाण लोप वा नास गर्न सक्ने वा अनुसन्धानमा बाधा पु¥याउन सक्ने भएकाले निलम्बन गर्न सिफारिश गरेको जनाउँदै आयोगले निलम्बनमा पर्नेमा प्रहरी नायब निरीक्षक भोजबहादुर सेन वली, प्रहरी सहायक निरीक्षक रामशरण कुमाल, प्रहरी हवल्दारहरु रामशरण रिमाल, पुरुषोत्तम खत्री, रामकाजी लामा र गोपीबहादुर लो तामाङ रहेका छन् । यस्तै प्रहरी जवानहरु शिवनारायण चौधरी, युवराज खरेल, भविलाल रुम्बा लामा, रामचन्द्र विक, रिता चौधरी, मनोज आले, छेक्यु डोल्मा मोक्तान र ताराबहादुर प्रजा तथा प्रहरी कार्यालय सहयोगी हरिबहादुर श्रेष्ठ रहेको उल्लेख गरिएको छ ।

यसैवीच आयोगले आजै सुर्खेत जिल्ला साविक लगाम गाउँ विकास समिति वडा नं. ५ स्थित कोटदरवार सामुदायिक वन उपभोक्ता समुहका अध्यक्षले समुहको रकम हिनामिना गरेको, समूहको निर्णय बिना रकम निकाली बिल भरपाई बनाई हिनामिना गरेको, वन हेरालुलाई तोकिएको भन्दा बढी रकम दिएको फर्जी भरपाई बनाएर पेश गरेको भन्ने उजुरीको अनुसन्धान पछि ७९ हजार हिनामना गरेको अभियोगमा सुर्खेत जिल्ला चौकुने गाउँपालिका वडा नं। १ स्थित कोटदरवार सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष बलबहादुर कठायत विरुद्ध मुद्धा दायर गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।