शनिबार, बैशाख ८, २०८१

गोङ्गबु आवास क्षेत्रमा नमूना पानी पुनभरण प्रणाली शुभारम्भ

काठमाडौं फागुन ७,  काठमाडौं महानगरको वडा २६ स्थित आवास क्षेत्रको गोङ्गवु डबलीमा पानी पुनभरण प्रणाली शुभारम्भ गरिएको छ । गोङ्गबु आवास क्षेत्र सुधार समितिको स्थानीय सहयोग र एकीकृत सहरी बिकास केन्द्रको प्राबिधिक सहयोगमा स्थापना गरिएको प्रणाली आज महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले शुभारम्भ गर्नुभएको हो । यस प्रणालीमा डबली भएको १ रोपनी जग्गा (क्याचमेन्ट)मा जम्मा भएको पानी जमिनमुनि पठाउने व्यवस्था मिलाइएको छ । जग्गामा टहरा र खाली ठाउँ छ । टहरामा आकाशे पानी संकलन बिधि जडान गरिएको छ ।

कार्यक्रममा महानगर प्रमुख शाक्यले प्रणालीको शुभारम्भ गर्दै आजबाट ‘रिचार्ज काठमाडौं’ को नमूना योजना शुरु भएको बताउँदै प्रस्तुत नमुना योजनाको परिणाम मुल्याङ्कन पछि महानगरका सबै वडा र सार्वजनिक तथा खुल्ला जग्गामा पानी पुनभरण प्रणाली जडान गर्ने सोच महानगरले बनाएको जानकारी दिनु भएको छ । साथै उहाँले पानीको समस्या झेल्दै आएको महानगरवासीका लागि प्रस्तुत योजना लाभदायि हुने अपेक्षा गर्नु भएको छ ।

त्यस्तै कार्यक्रममा महानगर उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले परम्परागत रुपमा बनाइने इनार र ढुङ्गेधारा जोगाउन नसक्दा काठमाडौंं पानीसँग सम्बन्धित वातावरणीय र व्यवस्थापकीय समस्यामा परेको बताउँदै सहरबासीलाई राहत दिन रिचार्ज काठमाडौं थालिएको जनाउ दिनु भयो । कार्यक्रममा वडा २६ का अध्यक्ष ख्यामराज तिवारी ,गोङ्गबु आवास क्षेत्र सुधार समितिका अध्यक्ष महेश्वरकुमार श्रेष्ठलगायतले वोल्नु भएको थियो ।

यस्तो छ पानी पुनभरण प्रणालीको कार्यचक्र :   यस क्षेत्र (क्याचमेन्ट) मा जम्मा भएको पानी क्याचफिटमा जम्मा हुन्छ । यसरी पानी जम्मा गर्न ३ वटा क्याचफिट बनाइएका छन् । त्यहाँबाट पानी पुनभरण इनार (रिचार्ज वेल) मा जान्छ । डवलीको खाली ठाउँमा २ वटा पुनभरण इनार बनाइएका छन् । दुईमध्येको एउटा २४ फिट गहिरो र ४२ इन्च गोलाइको छ भने अर्को १४ फिट गहिरो र ४२ इन्च गोलाइको छ । २४ फिट गहिरो इनारको तल्लो ५ फिटमा खोलाबाट ल्याइएको १०० एमएमसम्मका गिटी राखिएको छ । त्यसभन्दा माथि ३ फिटमा त्योभन्दा मसिना गिटी, त्यसको माथिल्लो ३ फिटमा खस्रो बालुवा र त्यसभन्दा माथि जिओ टेक्स्टाइल राखिएको छ । जमिनमा जम्मा भएको पानी यही इनारबाट छानिँदै जमिनमुनि जान्छ । डबलीसँगै रहेको नर्सरीमा पनि यस्तै प्रणाली जडान गरिएको छ । यहाँ भने एउटा क्याचफिट र एउटा पुनभरण इनार निर्माण गरिएको छ ।

्त्यस्तै प्रणाली जडान गर्न करीब ५ लाख रुपैयाँ लागत लागेको वातावरण व्यवस्थापन बिभागकी इञ्जिनियर निशा कोइरालाले जानकारी दिनुभयो । इञ्जिनियर कोइरालाकाअनुसार यस प्रणालीबाट १ बर्षमा करीब ७ लाख ६७ हजार लिटर पानी पुनभरण हुने अपेक्षा गरिएको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।