शनिबार, बैशाख ८, २०८१

चार शहीदको पूर्ण कदको सालिक प्रतिस्थापन

काठमाडौ माघ १५, काठमाडौं महानगरपालिकाले शहीद सप्ताहको अवसरमा चार शहीदको पूर्ण कदको सालिक प्रतिस्थापन गरेको छ । शहीद सप्ताहको तेस्रो दिन आज शहीद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको पूर्ण कदको सालिक शहीद सप्ताह मूल समारोह समितिका संयोजक तथा महानगर प्रमुख विद्यासुन्दर शाक्यले अनावरण गर्नुभएको हो ।

प्रमुख शाक्यले व्यवस्था परिवर्तनसँग स्वाधीनताको र नागरिक अधिकार प्राप्तिका लागि सहादत प्राप्त गर्ने शहीदलाई चिरकालसम्म सम्झना गरिरहन पूर्ण कदको सालिक निर्माण गर्दै प्रतिस्थापन गरिएको जानकारी दिनु भएको छ ।

आज गङ्गालाल र दशरथ चन्दको सालिक अनावरण गरिएसंगै विसं १९९७ मा प्रजातन्त्रका लागि साहदत प्राप्त गर्ने चारै शहीदको पूर्ण कदको सालिक प्रतिस्थापन भएको छ । यसअघि वडा नं ७ सिफलमा शहीद धर्मभक्त माथेमाको र गत वर्ष वडा नं १२ स्थित टेकु मचलीमा शुक्रराज शास्त्रीको पूर्ण कदको सालिक प्रतिस्थापन गरिसकिएको छ ।

तत्कालीन राणाको हुकुमी शासनका विरुद्धमा आवाज बुलन्द गर्दै जनतालाई प्रजातन्त्रका लागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते शहीद चन्द र श्रेष्ठलाई विष्णुमती शोभा भगवतीमा गोली हानेर मृत्युदण्ड दिइएको थियो भने शहीद शुक्रराज शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकु पचलीस्थित खरीबोटमा झुण्ड्याएर मारिएको थियो । त्यस्तै शहीद धर्मभक्त माथेमालाई तत्कालीन शासकका विरुद्धमा गतिविधि सञ्चालन गरेको भन्दै विसं १९९७ माघ १३ गते काठमाडौँको सिफलमा रहेको बकाइनाको रूखमा झुण्ड्याएर मारिएको थियो ।

यसैवीच विहिवार अर्थात माघ १६ गते शहीद स्मारक लैनचौरमा ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जलिसभा गरिनेछ । शान्तिवाटिका बाट प्रभातफरी सहित लैनचौर पुगेर सहीद सप्ताहको औपचारिक कार्यक्रम आयोजना गरिने कामपाले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।