शुक्रबार, चैत्र १६, २०८०

बुङमतीस्थित रातो मच्छिन्द्रनाथको पुनर्निर्माण उपभोक्ता समितिमार्फत

काठमाडौं पुस १४, ललितपुरको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत गराउने भएको छ । सिंहदरबारस्थित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो । यसअघि श्रीलंका सरकारको आर्थिक सहयोगमा निर्माण व्यवसायीमार्फत रातो मच्छिन्द्रनाथको मन्दिर पुनर्निर्माण अघि बढाइएको थियो । पूर्वयोजना अनुसार मन्दिर पुनर्निर्माण अघि नबढेपछि ठेक्का तोडिएको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण प्राधिकरणको विशेष प्राथमिकतामा परेकाले रानीपोखरीको मोडेलअनुसार उपभोक्ता समितिमार्फत पुनर्निर्माण गरिने निर्णय सहित मन्दिरको पुनर्निर्माणको अनुगमनका लागि प्राधिकरणको नेतृत्वमा समिति पनि गठन गरिने जानकारी दिनु भएको छ ।

त्यस्तै सांसद पम्फा भुसालले उपभोक्तामार्फत पुनर्निर्माण गरिने हुँदा रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण पूरा हुने आशा बढेको बताउँदै निर्वाचन क्षेत्र पूर्वाधार कोषबाट अधिकतम बजेट राख्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

त्यस्तै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले समयतालिका बनाएर रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण गरिनु पर्नेमा जोड दिँदै पुनर्निर्माणमा आवश्यक सहयोग गर्न महानगर तयार रहेको जनाउ सहित  महानगरपालिकाका तर्फबाट गुरुयोजनाको स्वामित्व लिने र त्यसका केही मुख्य भाग पुनर्निर्माण गर्न सहयोग गर्ने बताउँनु भएको बैठकमा  गुरुयोजनाबारे थप छलफल गरेर अन्तिम रुप दिने समझदारी पनि बनेको बताईएके छ ।

बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, संघीय संसदका सांसद पम्फा भुसाल, प्रदेश सभासद जीवन खडका, ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन, पुरातत्व विभागका प्रतिनिधि, वडाध्यक्ष लगायत सहभागी हुनुहुन्थ्यो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।