शुक्रबार, चैत्र १६, २०८०

प्रचण्डले भने- दोषी ठहर भएँ कारबाही भोग्न तयार छु

काठमाडौ  मंसिर ६,   नेकपा अध्यक्ष पुष्पकमल दाहालले द्वन्द्व र शान्ति प्रक्रियाका दौरान भएका राम्रा–नराम्रा कामको जिम्मा लिने बताउँदै दोषी ठहरिए सजाय भोग्न तयार रहेको अभिव्यक्ति दिएका छन् । शान्ति प्रक्रियाको तेह्रौं वर्ष लागेको अवसरमा बिहीबार आयोजित द्वन्द्वपीडितसँगको अन्तरसंवादमा दाहालले आफू जिम्मेवारीबाट कहिल्यै नपन्छिएको बताए ।

‘हुन त अहिले माओवादी पार्टी छैन, पार्टी कति टुक्रा भयो, देख्नुभएकै छ होला तर म अहिले पनि छु, शान्ति सम्झौतामा हस्ताक्षर मैले पनि गरेको हुँ, जनयुद्धको नेतृत्व पनि गरेको हुँ,’ पीडितहरूको आक्रोशलाई सम्बोधन गर्दै तत्कालीन विद्रोही दल माओवादीका अध्यक्ष दाहालले भने, ‘जनयुद्ध र शान्ति प्रक्रियाका क्रममा भएका राम्रा–नराम्रा कामको जिम्मा म लिन्छु । दोषी ठहर भएँ भने कारबाही भोग्न तयार छु भनेर पटक–पटक भनेको छु ।’

संक्रमणकालीन न्याय जहाँको तहीँ रहेको भन्दै विद्रोही तथा राज्य दुवै पक्षका पीडितले दाहाललाई सोधेका थिए, ‘यसको जिम्मा कसले लिन्छ र हामीले न्याय कहिले पाउँछौं रु’ दर्जनौं पीडितको आक्रोश दुई घण्टासम्म सुनेपछि दाहालले आफू उनीहरूको न्यायका पक्षमा पहिल्यैदेखि उभिँदै आएको र अब जसरी पनि संक्रमणकालीन न्यायलाई टुंग्याउने दिशामा काम अघि बढेको बताए । न्याय दिने प्रक्रिया केही ढिलो भए पनि अन्त्य भइनसकेको र आममाफी दिने प्रश्न पनि नउठेको भन्दै उनले पीडितलाई आश्वस्त पारे । ‘हामीले कहिल्यै आममाफीको कुरा गरेका छैनौं,’ उनले भने ।

आममाफी दिने गरी अन्तरिम संविधान मस्यौदा गर्ने बेलामा ‘फर्गिभ एन्ड फर्गेट’को प्रावधान राख्ने बहस हुँदा आफूले नमानेको उनले बताए । उनका अनुसार अन्य मुलुकमा झैं २०–३० वर्षपछि पनि द्वन्द्वकालका मुद्दा नबल्झियोस् भनेर सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत अघि बढिएको हो ।  तपाईंहरूमा आवेग आएको मैले बुझेको छु, फर्गिभ एन्ड फर्गेट गर्न हुँदैन भन्नेमध्येको म पनि हुँ’, उनले भने, ‘यसमा अन्तर्राष्ट्रिय मान्यतालाई पनि ध्यान दिनुपर्ने हुन्छ । गम्भीर अपराधलाई कारबाहीमा लानुपर्ने हुन सक्छ भन्नेमध्येको हुँ म ।’ शान्ति प्रक्रियाका तीनमध्ये दुई पाटा संविधान निर्माण र सेना समायोजनमा सबैको ध्यान गएकाले संक्रमणकालीन न्याय ओझेलमा परेको उनको भनाइ छ । अब संक्रमणकालीन न्याय मूल मुद्दा बनेर आएको उनले बताए । ‘हाम्रा हरेक काम केही ढिला भएका छन् तर ढिलै भए पनि फेरि सफल भएका छन्,’ उनले भने ।

त्यसअघि नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संक्रमणकालीन न्यायले टुंगो पाउन दाहाल नै तात्नुपर्ने बताएका थिए । ‘ताप्के ताते काम बन्छ, बिँड ताते हात पोल्छ,’ उनले दाहालतिर संकेत गर्दै भने, ‘कुनै समय म ताप्के थिएँ, अहिले बिँड भएको छ । ताप्के हुनुभएका प्रचण्डजी नताती यो अगाडि बढ्दैन ।’  उनले यसो भन्दा दाहाल मुसुमुसु हाँसेका थिए भने पीडितको मुहारमा पनि मुस्कुराहट छाएको थियो । आफू बोल्ने क्रममा त्यसको जवाफ दिँदै दाहालले भने, ‘अब म डढ्ने गरी नै तातें, त्यसो हुनाले यो प्रक्रिया अगाडि बढ्छ ।’ द्वन्द्वपीडित तथा मानव अधिकारकर्मीहरूले काम गर्न नसकेपछि फालिएका पुरानै अनुहारलाई फेरि आयोगमा दोहोर्‍याउने काम किन गरेको भन्ने प्रश्न पनि दाहाललाई गरेका थिए । त्यसको जवाफमा उनले ‘शान्ति प्रक्रियाको हस्ताक्षरकर्ताको हिसाबले’ आयोगमा नयाँ मान्छे राख्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताए ।

सर्वोच्चले जे आदेश दिएको छ, त्यसैलाई मानेर विधेयक संशोधन गर्ने, त्यसमा पीडितको सुझाव लिने र शान्ति प्रक्रियालाई टुंग्याउने दाहालको प्रतिबद्धताले पीडितहरूको आक्रोश केही हदसम्म साम्य भएको थियो । शान्ति प्रक्रियामा संलग्न नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पनि पीडितको मागअनुसार शान्ति प्रक्रिया टुंग्याउन आफू र आफ्नो दल तयार रहेको बताए । कान्तिपुर दैनिकबाट

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।