शनिबार, बैशाख ८, २०८१

बडादसैंको आठौं दिन: शक्तिपीठमा पशु बली सहित महाष्टमी पर्व मनाइदै

ॐ जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वहा स्वधा नमोस्तु ते ।।

आजै हनुमानढोकाको दशैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गरिने

काठमाडौ  असोज १९ ,  असोज शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीहरुले बडादसैंका रुपमा दुर्गा भवानीको पूजाआजा गरी भब्यताका साथ मनाउँदैछन् ।बडादसैंको आठौं दिन आज , महालक्ष्मी र महा सरस्वतीको बिशेष पूजा आजा सहित मनाउँने परम्परा रहिआएको छ । त्यसोत महाअष्टमीको दिन दुर्गा भवानी स्वयमा पनि शक्तिशाली बन्ने भएकाले आजको दिनको आफैमा विशेष महत्व रहिआएको छ ।

आजको दिन शास्त्रसम्मतरुपमा दसैंघर, कोतलगायत राज्यका बिभिन्न शक्तिपीठमा पशु बली दिई दुर्गा भवानीको बिशेष पूजा आजा गरिन्छ । दुर्गा सप्तशती र देवी स्तोत्र पाठ पनि गरिन्छ । विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बली दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको गरिएको छ ।

त्यस्तै आज मुलत देवीका शस्त्र अस्त्रसहित चतुरङ्गिणी सेनाको पनि आह्वान गरी पूजा गर्ने गरिन्छ । पशुबलि नचढाउनेहरुले भने आज पूजा कोठामा आ–आफ्नो कूल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि बलि चढाइ पूजाआजा गर्ने गर्दछन् । आज राति हनुमानढोकाको दशैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने गरिन्छ ।

आजका दिन उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सड्कटा, वज्रबाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई लगायत मन्दिरहरुमा पनि बलीसहित पूजा आजा गर्नेहरुको बिहानैदेखि भीड लाग्ने गर्दछ । यसैगरी उपत्यका बाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलदुराको उग्रतारा, काभ्रपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती लगायतका शक्तिपीठहरुमा पनि बलीसहित पूजा आराधना गर्ने श्रद्धालु भक्तजनहरुको घुँइचो लाग्ने गर्दछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।