शुक्रबार, चैत्र १६, २०८०

कांग्रेस भित्र चर्किँदै हिन्दू राष्ट्रको बहस

  •  महेश्वर गौतम

काठमाडौं भाद्र २३, प्रमुख विपक्षी दल नेपाली कांग्रेसभित्र पछिल्लो समय हिन्दू राष्ट्रका पक्षमा चर्को रूपमा बहस उठ्न थालेका छन् । सो बहसमा शीर्ष तहका नेता नै पछिल्लो समय खुलेरै लाग्न थालेका हुन् । महामन्त्री डा शशांक कोइरालाले कांग्रेसभित्र हिन्दू राष्ट्र पुनस्र्थापनाको विषय उठाउँदै आएकोमा पछिल्लो समय अन्य नेतासमेत खुल्न थालेका छन् । गत वर्षको पुसमा राजधानीमा सम्पन्न महासमिति बैठकमा संविधान जारी भएयता पहिलोपटक औपचारिक रूपमा हिन्दू धर्मको विषयले प्रवेश पाएको थियो ।

सो बखत नेता शंकर भण्डारी र महासमिति सदस्य राजुराम जोशीले हिन्दू राष्ट्र पुनस्र्थापनाको मुद्दा महासमितिसम्म ल्याएका थिए भने बैठकमा ७ सय महासमिति सदस्यले हिन्दू राष्ट्रका पक्षमा हस्ताक्षर गरेका थिए । सो हस्ताक्षर पार्टी नेतृत्वलाई बुझाउँदै धर्मनिरपेक्षताको विषयमा पार्टीले पुनर्विचार गर्नुपर्ने आवाज उठेको थियो ।  हाल कांग्रेसभित्र सो विषय चर्को रूपमा उठेको छ । केही दिनअघि सम्पन्न केन्द्रीय समिति बैठकमा नेता डा। शेखर कोइरालाले महाधिवेशनमा हिन्दू धर्मको विषय एजेन्डाका रूपमा आए पार्टीले कसरी व्यवस्थापन गर्न सक्छ भनी पार्टी नेतृत्वसँग प्रश्न गरेका थिए । उनले धर्मका विषयमा पार्टीले संवेदनशील हुनुपर्ने राय बैठकमा राखेका थिए ।

कांग्रेस सहमहामन्त्री डा प्रकाशरण महतले सनातनदेखि चल्दै आएको धर्म संस्कृतिको रक्षा गरिने भनेर संविधानमा लेखिए पनि सरकारबाट संविधानमा लेखिएभन्दा ठीक उल्टो व्यवहार हुँदा यस्तो परिस्थिति बन्दै गएको बताए । संविधानमा त सनातनदेखि चल्दै आएका धर्म संस्कृतिको रक्षा गरिने भनेर लेखियो तर सरकार नै उल्टो बाटोमा लाग्यो । सनातनदेखिको धर्म संस्कृतिमाथि आस्था राख्नेले असुरक्षित महसुस गर्न थाले ।  त्यसकारण, परिस्थिति फरक बन्दै छ,’ कांग्रेस सहमहामन्त्री महतले राजधानीसँग भने । उनले सनतानदेखि चल्दै आएको धर्म संस्कृतिको रक्षाका लागि कांग्रेस निरन्तर बोल्ने र लड्ने बताए । राजधानी दैनिकबाट

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।