बुधबार, बैशाख १२, २०८१

राज्यपक्षको बदनियतपूर्ण कर्तुतको महासंघद्दारा भत्र्सना

पक्राउ परेका सबै पत्रकारलाई तत्काल रिहा गर्न माग

काठमाडौं भाद्र ३०, नेपाल पत्रकार महासंघले सम्वादबाट समस्या समाधान गर्नुभन्दा प्रहरी प्रशासन लगाएर मुद्दालाई दबाउने राज्य पक्षको बदनियतपूर्ण कर्तुतको कडा शब्दमा भत्र्सना गरेको छ ।

रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासन गरिएका तीन जना पत्रकारको पुनर्वहालीको सवालमा महासंघका कार्यवहाक अध्यक्ष विपुल पोख्रेलको नेतृत्वको प्रतिनिधीमण्डल व्यवस्थापन पक्षवीच भएको वार्ता निष्कर्ष विहिन भएसंगै रेडियो परिसरबाट निस्कदै गरेका महासंघका सचिव र केन्द्रीय सदस्यसहित ९ जना पत्रकारलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर आपत्ती प्रकट गरेको छ ।

महासंघका महासचिव रमेश विष्टद्दारा जारी विज्ञप्तिमा सिंहदरबारस्थित रेडियो नेपालको कार्यालयबाट निस्कदै गर्दा प्रहरीले हस्तक्षेप गरी रेडियो परिसरबाटै महासंघ सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्यहरु यम विरही, जन्मदेव जैसी, मीन बमसहित पत्रकारहरु अजयबाबु सिवाकोटी, दिलीप पौडेल, महासंघ डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायर र निष्काशित पत्रकारहरु प्रकाशबहादुर बम र चक्र कुँवरलाई पक्राउ गरेको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा वार्ताका क्रममा रेडियो नेपाल व्यवस्थापन पक्ष गम्भीर देखिएन र वार्ता हुँदै गर्दा रेडियो परिसरभित्र प्रहरीको बाक्लो उपस्थिति गराइयो । एकातर्फ श्रमजीवी पत्रकारहरुलाई बिनाकारण निष्कासन गर्ने अर्कोतर्फ बार्ताका माध्यमबाट समस्याको खोजी गर्ने प्रक्रियालाई दबाउन प्रहरी परिचालन गर्ने दुबै कार्य श्रम अधिकार तथा प्रेस स्वतन्त्रताप्रति गम्भीर आक्रमण भएको जिकिर गर्दै महासंघले राज्यको यस्तो दमनकारी कार्यप्रति खेद व्यक्त गर्दै वार्ता अवरुद्ध गरी प्रहरी परिचलान गर्न संलग्न पक्षको पहिचान गरी कारबाही गर्न र पक्राउ परेका सबै पत्रकारलाई तत्काल रिहा गर्न सम्बन्धित पक्षसँग जोडदार माग गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।