बिहिबार, चैत्र १५, २०८०

काँग्रेस केन्द्रीय समिति बैठक: स्थानीय तह अन्तरिम व्यवस्था निर्देशिका पारित

काठमाडौ साउन २६, नेपाली काँग्रेसको आज बसेको केन्द्रीय समितिको बैठकले ‘स्थानीय तह सङ्गठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका, २०७६’ पारित गरेको छ । काँगेस बैठकले पार्टीको विधानको धारा ५० (५) र धारा ७१ समेतको अधिकार प्रयोग गरी सो निर्देशिका सर्वसम्मतिले पारित गरी लागू गर्ने निर्णय गरेको हो । सो निर्णयलाई पार्टीको आगामी महासमिति÷महाधिवेशनमा पेश गरी अनुमोदन गराइने काग्रेसले जनाएको छ ।

त्यस्तै आजको बैठकले पार्टीका तर्फबाट खोटाङ्गको दिक्तेल रुपाकोटा मझुवागढी नगरपालिका–१ को खुला वडा सदस्य पदमा निर्वाचित बैजनाथ रिजाल काँग्रेस पार्टी परित्याग गरेकोले प्रचलित कानूनबमोजिम निजको वडा सदस्य पद स्वतः रिक्त हुने जानकारी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय गरेको छ । भने इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘इद उल जोहा’ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेको छ ।

साथै आजको बैठकले काँग्रेस केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको बैठक पछि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस्तै विज्ञप्तिमा बैठकले सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको रात्रिबस धादिङको बेनीघाट नजीक त्रिशूली नदीमा खस्दा धेरैको मृत्यु र त्यसमा सवार कतिपय यात्रु बेपत्ता भएका, गुल्मी र बझाङमा भएको सवारी दुर्घटनामा परी अकालमै ज्यान गुमाउनुु भएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै गहिरो दुःख प्रकट गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा आज केन्द्रीय सदस्यहरू महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, एनपी साउँद, उमाकान्त चौधरी, दीपक गिरी, महेन्द्र यादव, बद्री पाण्डे, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, हृदयराम थानी र शिवप्रसाद हुमागाईंले आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो । केन्द्रीय कार्यसमितिको अर्को बैठक यही साउन २९ गते अपराह्न १ बजे पुनः बस्ने मुख्य सचिव पौडेलद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।