शुक्रबार, चैत्र १६, २०८०

उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको रातो मछिन्द्रनाथको रथयात्रा बुधवारबाट शुरु

ललितपुर  बैशाख २६,  वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको  रथयात्रा बुधवारबाट शुरु भएको छ ।  पुल्चोकमा वैशाख शुक्ल प्रतिपदाका दिनमा रथारोहण गराएको मछिन्द्रनाथ र बुधवारसाँझ शुभसाइतमा साँझ तानेर गाबहाल पु-याएको हो ।  मुलुकमा १२ वर्षसम्म पानी नपरी सुख्खा भई दुर्भिक्ष वा अनिकाल भएका कारण लिच्छवीकालका भक्तपुरका राजा नरेन्द्रदेव काठमाडौंका तान्त्रिक वज्राचार्य गुरु बन्धुदत्त र पाटनका किसान रथचक्रले करुणामयलाई आसामको कामरूपा कामख्याबाट ल्याएका हुन् भन्ने भनाइ रहिआएको छ ।

मच्छिन्द्रनाथको रथयात्रा बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदा देखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ । सो जात्राको विशिष्ट सांस्कृतिक एवं धार्मिक महत्व रहिआएको संस्कृतिविद बताउँछन् । पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा मच्छिन्द्रनाथको रथयात्रालाइ लिइन्छ ।

लिच्छवीकालीन राजा नरेन्द्रदेवको पालादेखि राजा(राष्ट्र अध्यक्ष) भोटोजात्राको प्रमुख अतिथि बन्ने परम्परा छ । मछिन्द्रनाथको रथ स्थानीय वाराही जातिले निर्माण गर्नुपर्ने धार्मिक मान्यता रहिआएको छ । भुतप्रेत पन्छाउन भोटोजात्राको अघिल्लो दिन रथ वरिपरि भात छर्ने गरिन्छ । जावलाखेलको नाम पनि यही भात छर्ने प्रसङ्गसँग जोडिएको छ ।

नेपाल भाषामा यो ठाउँलाई जा ह्वला ख्यः (भात छर्ने चौर) भनिन्छ जुन पछि अपभ्रंश भएर जावलाखेल हुन पुगेको हो । भोटोजात्रा सकिएपछि मच्छिन्द्रनाथलाई प्राचीन कलात्मक खाटमा राखेर सांस्कृतिक बाजागाजासहित जावलाखेलबाट बुङमतीको मन्दिरमा छ महिनाका लागि विराजमान गराउन लैजाने परम्परा छ । सहकालका देवताका रूपमा मानिने मत्स्येन्द्रनाथ हिन्दू धर्मवलम्बीमध्ये शैव धर्मावलम्बीका नाथ सम्प्रदायका भगवान् हुन् भने बौद्ध धर्मावलम्बीमाझ श्री करुणामय वंगद्यः पद्मपाणि आर्यावलोकितेश्वर, लोकनाथ आदि नामले पुजिने गर्दछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।