शुक्रबार, चैत्र १६, २०८०

विश्व शान्तिको अभियानमा लाग्ने प्रेरणा मिलोस् : राष्ट्रपति

काठमाडौ जेठ ४ , गौतम बुद्धको २५६३ औँ जन्मजयन्तीका अवसरमा विश्वभरका बौद्धमार्गी एवम् शान्ति र अहिंसाप्रेमी समुदायमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्तिका अग्रदूत गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले जारी गर्नु भएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले पवित्र भूमि लुम्बिनीमा जन्मेका राष्ट्रगौरव बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको संयोग परेको आजको दिनमा हामी सबैमा एकापसमा सहिष्णुता, सद्भाव, अहिंसा एवम् विश्व शान्तिको अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

यसैवीच उपराष्ट्रपति नन्दबहादुर पुनले शान्तिका अग्रदूत, बुद्ध धर्मका प्रवर्तक गौतमबुद्धको २५६३औँ जन्मजयन्तीका अवसरमा आज एक सन्देश जारी गर्दै विश्वभरका मानिस भौतिक र आध्यात्मिक सुख शान्तिको खोजीमा रहेको वर्तमान विश्व सन्दर्भमा गौतमबुद्धबाट व्यक्त शान्ति र अहिंसाका सत्य वचनको महत्व र सान्दर्भिकता झनै बढेर बताउँदै सम्पूर्ण नेपाली र विश्वभरका बौद्ध धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको छ ।

त्यस्तै उहाँले सत्य, अहिंसा र सदाचारका आदि पुरुष बुद्धले देखाउनुभएको सत्मार्ग हामी सबैका लागि सदैव अनुकरणीय र मननीय रही आएको र उहाँको उपदेशलाई हृदयाङ्गम एबं आत्मसात् गर्न सकिएमा राष्ट्र र विश्वमा नै बन्धुत्व, सद्भाव र दिगो शान्तिको स्थापना हुने विश्वास लिएको छ उल्लेख गर्नुभएको छ ।

त्यस्तै प्रधानमन्त्री केपी  ओलीले गौतमबुद्ध विश्वसामु गौरवका सत्पात्र भएको बताउनुभएको छ । २५६३औँ बुद्ध जयन्तीका अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानव जगत्को कल्याणका निमित्त कठोर तपस्याबाट ज्ञान प्राप्त गरी संसारलाई दीक्षित गरेको उल्लेख गर्नुभएको छ ।

साथै उहाँले आफनो सन्देशमा बुद्धका विचार जीवनदर्शन र मानव कल्याणसँग सम्बन्धित भएकाले नै विश्वभर प्रसिद्ध र लोकप्रिय बन्न सकेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घले समेत गौतमबुद्धबाट प्रतिपादित ज्ञानलाई मुख्य सिद्धान्तका रुपमा अवलम्बन गरी संसारलाई त्यसैअनुरूप शान्तिको बाटोमा डोहो¥याउन खोजेको बताउँदै संसारमा दुःख छ र दुःख हटाउनसके निर्वाण वा शान्ति प्राप्त हुन्छ भन्ने ज्ञानका प्रवर्तक गौतमबुद्धले मैत्री, करुणा र अहिंसाको शिक्षा दिएको जिकिर गर्दै बुद्धको जन्मस्थल लुम्बिनीलाई विशेष धार्मिक र पर्यटकीयस्थलका रुपमा विकास गर्न सरकार सधैँ सकारात्मक रहेको भन्दै बुद्धजयन्तीको महत्वपूर्ण दिनमा सबैलाई बुद्धप्रदत्त ज्ञानलाई शिरोधार्य गरी विश्व शान्ति र भाइचाराको बाटोमा अगाडि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।