बुधबार, बैशाख १२, २०८१

मुलुकी संहितासंगै विद्युतीय कारोवार ऐनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सङ्कुचनमा : महासंघ

काठमाडौं बैशाख १९,   प्रत्येक वर्ष मे ३ का दिन संसारभर मनाइने विश्व प्रेस स्वतन्त्रता दिवस यसवर्ष नेपालमा ‘लोकतन्त्र र शान्तिका लागि मिडियाः इन्टरनेटको युगमा पत्रकारिता र निर्वाचन’ भन्ने नाराका साथ पत्रकार महासंघका केन्द्र, प्रदेश समिति र जिल्ला शाखाहरुको आयोजनामा देशभर विविध कार्यक्रमको आयोजना सहित शुक्रवार मनाइदैछ ।

 नेपालमा विश्व प्रेस स्वतन्त्रता मनाउँदै गर्दा प्रेस स्वतन्त्रता हननका घटनामा भने कमी आउन सकेको छैन । नेपाल पत्रकार महासङ्घका अनुसार यस वर्ष प्रेस स्वतन्त्रता हननका ६० वटा घटना भएका छन् । सालभरिका प्रेस स्वतन्त्रता हननका ६० घटनामा ७७ जना पत्रकार र पाँच सञ्चार संस्था पीडित भएका छन् । यी घटनामध्ये एक पत्रकारको हत्या र एक बेपत्ता छन् ।

प्रेस स्वतन्त्रताको आधारभूत सिद्धान्त, विश्वभर र हाम्रो देशभित्रको प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको समग्र अवस्थाको समीक्षा, प्रेस स्वतन्त्रता हनन्का घटनाको सार्वजनीकीकरण र स्वतन्त्रताको प्रतिरक्षा, प्रेस स्वतन्त्रता सेनानी एवं पत्रकारिता पेशा निर्वाहको क्रममा जीवन उत्सर्ग गर्ने तथा बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्ने यो दिनको महत्व विशेष रहिआएको छ ।

दिवसको अवसरमा नेपाल र विश्वमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निम्ति जीवन वलिदान गर्नुहुने योद्धाहरूप्रति श्रद्धा व्यक्त गर्दै प्रेस स्वतन्त्रताका पक्षमा अविराम संघर्ष गर्नुहुने सबै महानुभावहरूप्रति उच्च सम्मान व्यक्त गर्दै महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले नेपाल पत्रकार महासङ्घले संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रतालाई सुनिश्चित गरिएको भएता पनि विभिन्न ऐन तथा कानूनमार्फत प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजिनु प्रेस स्वतन्त्रतामाथिकै चुनौती रहेको बताउँदै गत २०७५ भदौ १ गतेबाट लागू भएको मुलुकी देवानी (संहिता), फौजदारी (संहिता) सम्बन्धी ऐनका विभिन्न दफाले प्रेस स्वतन्त्रतालाई सङ्कुचन पारेको बताउनुभएको छ ।

साथै पछिल्लो समय विद्युतीय कारोवार ऐन–२०६३ अन्तर्गत पत्रकारलाई गिरफ्तार गर्ने घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सङ्कुचनमा पार्ने काम धेरै भएका बताउँदै पत्रकारलाई गिरफ्तार गर्ने मात्र होइन, अदालतको आदेशमा रिहा भएका पत्रकारलाई अदालत परिसरबाट बाहिर निस्कँदै गर्दा पुनःगिरफ्तार गर्नेजस्ता प्रेस स्वतन्त्रताविरोधी शैली अभ्यास भएको जिकिर गरिएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासंघ  अध्यक्ष गोविन्द आचार्यको सन्देश

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।