शुक्रबार, चैत्र १६, २०८०

प्रदेशसभाको तेस्रो अधिवेशनद्दारा प्रदेश १ को स्थायी राजधानी विराटनगरको प्रस्ताव पारित

काठमाडौं बैशाख २४ ,  प्रदेश १ को स्थायी राजधानी विराटनगर तोकिएको छ । सोमबार बसेको प्रदेशसभाले स्थायी राजधानी विराटनगरमा रहने प्रस्ताव पारित गरेको हो । कार्यपालिका, व्यवस्थापिकालगायत संरचना बृहत् विराट विकास क्षेत्रअन्तर्गत विराटनगर, इटहरी र सुन्दरहरैंचा आसपास रहने प्रस्तावका पक्षमा प्रदेशसभाका ९३ सदस्यमध्ये ८६ मत परेको थियो । विपक्षमा शून्य मत परेकाले दुई तिहाइ मतले प्रस्ताव पारित भएको घोषणा सभामुख प्रदीपकुमार भण्डारीले गरेका थिए ।

राजधानीका लागि चारवटा प्रस्ताव दर्ता भएका थिए । सत्तारूढ नेकपा संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले गरेको प्रस्तावलाई प्रमुख प्रतिपक्षी कांग्रेसले समर्थन गरेपछि स्थायी राजधानीको प्रस्ताव सर्वसम्मत पारित भएको हो । सोमबार २ बजे बोलाइएको प्रदेशसभा बैठक २ घण्टा ढिलो गरी सुरु गरिएको थियो । बैठक सुरु हुनासाथ सभामुखले स्थायी राजधानीको प्रस्तावलाई सर्वसम्मत बनाउन सहमति प्रयास जारी रहेकाले १५ मिनेटका लागि बैठक स्थगन गरेको घोषणा गरे ।

सवा ६ बजे सुरु भएको अर्को बैठकको सुरुमै सभामुखले विराटनगरलाई स्थायी राजधानी घोषणा गर्नेसम्बन्धी प्रस्ताव पेस गर्न प्रमुख प्रतिपक्षी कांग्रेसका प्रमुख सचेतक केदार कार्कीलाई समय दिए । कार्कीले सत्तारूढ दलका सचेतकले पनि विराटनगरलाई नै स्थायी राजधानी घोषणा गर्न माग गर्दै प्रस्ताव दर्ता गराएका कारण आफ्नो प्रस्ताव फिर्ता लिने जानकारी सभा���ुखलाई गराए ।

तर कार्यपालिका, व्यवस्थापिकालगायत संरचना बृहत् विराट विकास क्षेत्रअन्तर्गतका विराटनगर, इटहरी र सुन्दरहरैंचा आसपास रहने प्रस्तावको विपक्षमा रहेको समेत उनले बताए । उनले आन्दोलनमा रहेका विराटनगरवासीसँग मुख्यमन्त्री शेरधन राईलगायत नेकपाका नेताहरूले कार्यपालिका तथा व्यवस्थापिका विराटनगरबाट बाहिर नलैजाने मौखिक प्रतिबद्धता जनाएका कारण आफ्नो प्रस्ताव फिर्ता लिएको बताए । धनकुटालाई स्थायी राजधानी घोषणा गर्न माग गर्दै प्रस्ताव दर्ता गराउने सांसद लीला सुब्बा र निरन राईले भने प्रदेशसभा सचिवमार्फत पहिला नै आफ्नो प्रस्ताव फिर्ता लिएकाले सदनमा प्रवेश नै पाएन ।

संविधानको धारा २८८ को उपधारा २ तथा प्रदेश १ को प्रदेश सभा ९पहिलो संशोधन० नियमावली, २०७५ को परिच्छेद १०, नियम ५८ को उपनियम (क) १ बमोजिम नामांकन र स्थायी राजधानी विषयमा प्रस्ताव आहवान गरिएको थियो तर सत्तारूढ दलबीच नै प्रदेशका नाममा सहमति बन्न नसकेका कारण एउटा पनि प्रस्ताव दर्ता भएन । प्रस्तावमाथि छलफलमा भाग लिँदै संघीय समाजवादी फोरम नेपाल संसदीय दलका नेता जयराम यादव, राप्रपाकी इन्दिरा राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णु तुम्बाहाम्फेले समर्थन गरेका थिए । प्रस्तावमाथिको मतदानका क्रममा कांग्रेसका सदस्य प्रतापप्रकाश हाङगाम भने बाहिरिएका थिए । प्रदेशसभाको तेस्रो अधिवेशन स्थायी राजधानीको प्रस्ताव पारित गरेसँगै सोमबारबाटै अन्त्य भएको छ । कान्तिपुरबाट