शनिबार, बैशाख ८, २०८१

गणतन्त्र दिवस विविध कार्यक्रम सहित ३ दिन मनाइने

काठमाडौ बैशाख २४ , सरकारले आगामी जेठ १५ गते गणतन्त्र दिवस मनाउन प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन गरेको छ । गृह मन्त्रालयमा सोमवार बसेको बैठकले जेठ १४ देखि १६ गतेसम्म विविध कार्यक्रम गरी देशभित्र र देशबाहिर नेपाली नियोगमा दिवस मनाउने निर्णय गरेको हो ।

त्यस्तै बैठकले दिवसको आयोजनाका लागि सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको संयोजकत्वमा काठमाडौँ, ललितपुर, भक्तपुरका जिल्ला समन्वय समितिका प्रमुख, सञ्चार मन्त्रालयका सचिव, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक, नेपाल टेलिभिजन र गोरखापत्र संस्थानका अध्यक्ष, रेडियो नेपालका कार्यकारी निर्देशकलगायत रहेको प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।

त्यस्तै काठमाडौँका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ग्राउण्ड, कवाज, व्यायाम तथा झाँकी व्यवस्थापन उपसमिति र काठमाडौँ महानगरपालिकाका प्रमुखको संयोजकत्वमा मञ्च सजावट तथा मञ्च व्यवस्था उपसमिति गठन गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै प्राप्त समाचारमा जेठ १५ गते गणतन्त्र दिवसका दिन राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायधीश, सभामुखलगायतका उच्चपदस्थ व्यक्तित्वको सहभागिता हुने विशेष कार्यक्रमको आयोजना गरिने उल्लेख गरिएको छ ।

यसैगरी जेठ १६ गते सबै जिल्लामा वृक्षरोपण, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल रेडक्रस सोसाइटीको समन्यनमा रक्तदान र साँझ दीपावली र विदेशस्थित नेपाली दूतावास, नियोग, वाणिज्य दूतावास तथा काठमाडौँ उपत्यका बाहिर प्रदेशका केन्द्र, जिल्ला र स्थानीय तहमा समेत तीन दिन गणतन्त्र दिवस मनाउन विविध कार्यक्रम आयोजना गरिने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।