शुक्रबार, चैत्र १६, २०८०

आयोगले भन्यो बाँच्न पाउने व्यक्तिको नैसर्गिक अधिकारको संरक्षण गर

काठमाडौं जेठ १४ , राष्ट्रिय मानव अधिकार आयोगले देशका विभिन्न भागमा बम विस्फोट घटनाबाट जीवन गुमाउने व्यक्तिका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।

आयोगका सचिव वेद भट्टराईले जारी गरेको प्रेस विज्ञप्तिमा द्वन्द्व वा सङ्घर्षको स्थितिलाई प्रतिद्वन्द्व वा हत्याहिंसा, आगजनी र तोडफोडयुक्त कार्यबाट भन्दा वार्ता र संवादबाटै निराकरण गर्न सकिनेमा आयोग विश्वस्त छ, विज्ञप्तिमा भनिएको छ । आयोगले बन्द, निषेध र हिंसाको राजनीतिबाट कोही कतै पनि पुग्न नसक्ने हुँदा त्यसलाई पूर्णतः वर्जित गरी शान्तिपूर्ण वातावरणमा बाँच्न पाउने व्यक्तिको नैसर्गिक अधिकारको सम्मान र संरक्षण गर्न सम्बन्धित पक्षलाई आग्रह गर्दै देशभर बम विस्फोटका घटनामा जीवन गुमाएको परिवारलाई उचित राहत प्रदान गर्न तथा घाइतेको निःशुल्क र प्रभावकारी उपचार गराउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

त्यस्तै विज्ञप्तिमा देशको राजधानी तथा मोरङ, मकवानपुर, तनहुँ, कास्की, नवलपरासी (बर्दघाट सुस्तापूर्व), बैतडी, सुर्खेत, सर्लाही, सिन्धुलीलगायत जिल्लामा आइतबार र आज सोमबार भएको बम विष्फोट, आगजनी तथा तोडफोडका घटनाबाट काठमाडौंमा ४ जनाको मृत्यु भएको तथा विभिन्न ठाउँमा भएका विस्फोट, आगजनी तथा बम आक्रमणका घटनाबाट ८ जना घाइते भएको सञ्चार अनुगमनबाट बुझिएको आयोगले जनाएको छ ।

साथै प्रस्तुत घटनाबाट मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तरराष्ट्रिय अनुबन्ध १९६६, नेपाल पक्ष बनेका अन्तरराष्ट्रिय महासन्धि, नेपालको संविधानको धारा १६मा उल्लिखित सम्मानपूर्वक बाँच्न पाउने व्यक्तिको अधिकारको उल्लङ्घन भएको जनाइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।