शनिबार, बैशाख ८, २०८१

यस्तो छ झापामा उपभोक्ता हित संरक्षणका लागि अभिव्यक्त ७ बुँदे साझा प्रतिवद्धता

बिर्तामोड चैत १ , उपभोक्ता हित संरक्षणका लागि स्थानीय सरकार तथा झापाका सरोकारवालाहरुले सात बुँदे साझा प्रतिवद्धता व्यक्त गरेका छन् ।  विश्व उपभोक्ता अधिकार दिवसको सन्दर्भमा जिल्ला समन्वय समिति झापा र संवाद समूह झापाद्धारा आज बिर्तामोडमा आयोजित ‘उपभोक्ता अधिकार ,बजार तथा भौतिक पूर्वाधार अनुगमन,चुनौति र समस्या समाधानका उपाय’ विषयक कार्यशालामा सरोकारवालाले प्रस्तुत प्रतिबद्धता जनाएका हुन् ।

जिल्ला समन्वय समितिका प्रमुख सोम पोर्तेलको अध्यक्षतामा भएको कार्यशालामा स्थानीय सरकार स्थानीय सरकारका प्रतिनिधिले प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने संविधान प्रदत्त मौलिक अधिकारलाई कार्यान्वयन गर्न गराउन दायित्व बोध समेत गरेका छन् ।
त्यस्तै उपभोक्ताको स्वास्थ्य, सुविधा र आर्थिक हित कायम राख्न उपभोग्य वस्तुको सेवाको गुणस्तर, परिमाण एवम् मूल्यको अनियमितताबाट उपभोक्तालाई संरक्षण प्रदान गर्नुपर्नेमा सबैको जोड रहेको थियो । जिल्ला समन्वय समिति, झापाका स्थानीय तहका उपप्रमुख एवम् उपाध्यक्ष, विषयगत कार्यालयका विज्ञ, उपभोक्तावादी संस्था, स्थानीय तहका अधिकृत तथा प्रतिनिधि, उद्योग तथा वाणिज्य संघ एवम् अन्य सरोकारवालाले प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा स्थानीय पालिकाका उपप्रमुख तथा उपाध्यक्ष लगायत सरोकारवालाको जिज्ञासाको जवाफ विषयगत कार्यालयका विज्ञहरुले गरेका थिए । समन्वय समितिका प्रमुख पोर्तेल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत युवराज कट्टेल, औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालयका फार्मेसी निरीक्षक दिपेन्द्र खड्का र रेशमबहादुर भण्डारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक भरतबहादुर पुरी, गुणस्तर तथा नापतौल कार्यालय झापाका प्रमुख कमल ओझा, घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत चन्द्रप्रसाद मिश्र र विषादि अवशेष दु्रत विश्लेषण प्रयोगशाला बिर्तामोडकी प्राविधिक अञ्जु आचार्यले जिज्ञासाको जवाफसहित उपभोक्ता अधिकार संरक्षणमा आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।