मङ्लबार, बैशाख ११, २०८१

म.प . को आकस्मिक बैठक : ताप्लेजुङ हेलिकप्टर दुर्घटनाप्रति दुःख व्यक्त ,फागुन १६ गते राष्ट्रिय शोकको घोषणा

दुर्घटनाको विस्तृत जाँचबुझका लागि पूर्वसचिव यज्ञप्रसाद गौतमको अध्यक्षतामा ४ सदस्यीय दुर्घटना जाँच आयोग गठन

काठमाडौ फागुन १५ , मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलगायत ताप्लेजुङमा भएको एयर डायनेष्टीको हेलिकप्टर दुर्घटनामा सवार सबै जनाको निधनप्रति दुःख व्यक्त गर्दै फागुन १६ गते राष्ट्रिय शोकको दिन घोषणा गर्ने निर्णय गरेको छ ।

प्रस्तुत हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारी सहित यति एयरलायन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुवदास भोछिभया, प्रम तथा मप कार्यालयका उपसचिव युवराज दाहाल, नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरे, हेलिकप्टर चालक प्रभाकर केसीसमेतको निधन भएको हो ।

त्यस्तै बैठकले अप्रत्याशित र दुःखद् यस घटनाले राष्ट्रलाई अपूरणीय क्षति भएको जनाउँदै सरकारले शोक व्यक्त गर्दै मृतआत्माको चिरशान्तिको कामना गरेको छ । साथै बैठकले उक्त हेलिकप्टरका सम्बन्धमा विस्तृत जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन पेश गर्न पूर्वसचिव यज्ञप्रसाद गौतम अध्यक्ष रहनुभएको ४ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । त्यस्तै बिहीबार स्वदेशस्थित सम्पूर्ण सरकारी सार्वजनिक कार्यालय, शैक्षिक संस्था र विदेशस्थित राजदूतावास तथा नियोगलाई सार्वजनिक बिदा दिनाका साथै सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।