बिहिबार, बैशाख १३, २०८१

समानुपातिक उम्मेदवारको बन्दसूची बुझाइँदै

राष्ट्रिय यथार्थवादी पार्टी नेपालले पहिलो नम्वरमा बुझायो बन्दसूची 

काठमाडौं असोज २९, आसन्न् मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ आइतबार उम्मेदवारहरुको बन्दसूची पेश गर्ने कार्यतालिका रहेको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ ११० तथा प्रदेशसभाको समानुपातिकतर्फ २२० पदका लागि आइतबार उम्मेदवारहरुको बन्दसूची पेश गर्ने कार्यतालिका आयोगले यसअघिनै प्रकाशित गरको हो । आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा राजनीतिक दलले समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची पेश गर्नुपर्नेछ भने बन्दसूची पेश गर्दा महिला उम्मेदवारको संख्या ५० प्रतिशित पुर्याउनुपर्नेछ ।

 नेपालको संविधानले संघीय व्यवस्थापिकामा एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गरे अनुरुप राजनीतिक दलले प्रत्यक्षतर्फबाट एक तिहाई महिला सदस्य सुनिश्चित गर्न नसकेमा समानुपातिक निर्वाचन प्रणालीबाट सुनिश्चित गर्नुपर्ने कानूनी व्यवस्था अनुरुप महिलाका प्रतिनिधित्व सुनिश्चित गर्नुका साथै समानुपातिक र समावेशी सिद्वान्तलाई आत्मसात गर्दै प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत महिला, दलित, आदिवासी जनजाति, खस आर्य (क्षेत्री, ब्राह्मण, ठकुरी र सन्यासीरदशनामी) , मधेशी, थारु, मुस्लिमको समावेशी प्रतिनिधित्वका लागि तत् समुदायको जनसंख्याका आधारमा उम्मेदवारी प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेको छ ।

त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले उम्मेदवारको नामावली पेश गर्दा भूगोल र प्रादेशिक सन्तुलन तथा पिछडिएको क्षेत्र र अपाङ्गता भएका व्यक्तिको समेत प्रतिनिधित्व हुने व्यवस्था गर्नुपर्नेछ । समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले यस प्रणालीबाट निर्वाचित हुने कुल सदस्य संख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनुपर्ने र कुल उम्मेदवारको कम्तीमा ५० प्रतिशत महिला हुनुपर्ने कानूनी प्रावधान रहेको छ ।

यसैवीच निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची आज बिहान १० बजे सबैभन्दा पहिला राष्ट्रिय यथार्थवादी पार्टी नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ ११ उम्मेदवारको बन्दसूची पेश गरेको आयोगले जनाएको छ ।