शनिबार, बैशाख ८, २०८१

यस्तो छ महासंघको धुलिखेल बैठकको १३ बुँदे निर्णय ( विज्ञप्ति सहित)

  • महासंघले चैतभित्र महासंघका १० वटै प्रदेशको अधिवेशन गर्ने

काठमाडौं असोज २७, २५औं महाधिवेशनबाट निर्वाचित नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यसमितिको काभ्रेपलाञ्चोकको धुलिखेलमा सम्मपन्न दोस्रो पूर्ण बैठकले आगामी चैतभित्र महासंघका १० वटै प्रदेशको अधिवेशन गर्ने लगायतका १३ बुँदे विभिन्न नितिगत निर्णय गरेको छ ।

महासंघका महासचिव रमेश विष्टद्दारा जारी विज्ञप्तिमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोगका लागि लोकतन्त्र, मानवअधिकार, विधिको शासन, स्वतन्त्र न्यायपालिका, आवधिक निर्वाचन र राज्यका सबै निकायमा समानुपातिक तथा समावेशी सहभागिताका लागि महासंघको प्रष्ट अडान कायम रहेको र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन पार्ने संविधानका केही व्यवस्था तथा कानुनी व्यवस्थाको परिमार्जनका लागि जोडदार माग गरिएको उल्लेख गरिएको छ ।

त्यस्तै श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि दबाबमूलक अभियान चलाउने निर्णय गरिएको छ । त्यसका लागि आन्दोलन र कानुनी पक्ष समेटेर कार्ययोजना तय गर्दै सञ्चार प्रतिष्ठानमा रहेका महासंघका शाखाहरूलाई ट्रेड युनियनमा दर्ता गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने तथा ऐन कार्यान्वयनका लागि सरोकारवाला निकायसंग समन्वय गरेर अगाडि बढ्ने निर्णय गरिएको जनाईएको छ ।

साथै विज्ञप्तिमा त्यसका लागि आगामी तीन महिनाभित्र सबै सञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकारलाई नियुक्तिपत्र तथा न्यूनतम पारिश्रमिकसहितका सुविधा उपलब्ध गराउन पहल गर्ने निर्णय गरिएको छ । ऐन कार्यान्वयनका लागि केन्द्र, प्रदेश तथा स्थानीय तहमा दबाबमूलक अभियान चलाउन समिति गठन गरिने जनाउँदै व्यावसायिक पत्रकारिताको विकासका लागि नियमितरूपमा मिडियाको कन्टेन्टका विषयमा मिडिया संवादको सञ्चालन , सदस्यता शुद्धीकरणको प्रक्रिया
पत्रकारिताका क्षेत्रमा क्रियाशील विभिन्न संघसंगठनसंगको समन्वयलाई प्राथमिककरण र सहकार्य, र  रेडियो, टेलिभिजन र अनलाईनको वर्गीकरण गरी सबै प्रकारका सञ्चारमाध्यममा ‘लोककल्याणकारी विज्ञापन’ उपलब्ध गराउनुका साथै साना लगानीका र अति दुर्गम क्षेत्रका मिडियाको प्रवद्र्धनमा ध्यान दिन सरकारको ध्यानकर्षण लगायतका निर्णयहरु रहेका छन ।