शुक्रबार, चैत्र १६, २०८०

पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौ असोज ३०, आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनअन्तर्गत पहिलो चरणमा मंसिर १० गते निर्वाचन हुने ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा आइतवार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

पहिलो चरणमा प्रदेश नं १ का ताप्लेजुङ, पाँचथर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, संखुवासभा र सोलुखुम्बु, प्रदेश नं ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नं ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा र त्यस्तैगरि प्रदेश नं ५ का रुकुम–पूर्वी भाग र रोल्पा, प्रदेश नं ६ का रुकुम–पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट र डोल्पा तथा प्रदेश नं ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडीमा पनि पहिलो चरणमा निर्वाचन हुने भएकाले ती निर्वाचन अधिकृतको कार्यालय स्थापना भई निर्वाचनसम्बन्धी कार्यसमेत प्रारम्भ भएको निर्वाचन आयोगले जनाएको छ ।

दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन हुने बाँकी ४५ जिल्लामा आगामी कात्तिक ९ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।