शनिबार, बैशाख ८, २०८१

पं.शाक्यको स्मृतिमा चाँदिको सिक्का निष्काशन

 काठमाडौं असोज २९,  न्हूदँ नेपाल सम्वत ११३८ को उपलक्ष्यमा नेवाः साहित्य र बौद्ध धर्मका साथै लिपि को जगतमा समेत अमूल्य योगदान दिनुभएका पं हेमराज शाक्यजुको फोटो सहित चाँदीको सिक्का असंन दगुबहाःमा एक कार्यक्रम बीच सार्वजनिक गरिएको छ । पूर्व जीवितदेवी कुमारी मतिना शाक्यले चाँदीको सिक्काको सार्वजनिक गर्नु भएको हो ।

भिंथुना गुथिको शुरुवात देखि नै यसरी सार्वजनिक भएको चाँदीको सिक्का सबभन्दा पहिला जीवित देवी कुमारीमा समर्पित गर्ने नियम अनुसार यसपटक पनि कुमारी घरको प्रतिनिधिलाई निवर्तमान कुमारीको हातबाट नवनियुक्त जीवित कुमारी तृष्णा शाक्यमा चढाउन हस्तान्तरण गरिएको थियो ।

निवर्तमान कुमारी शाक्य पहिलो पटक सार्वजनिक रुपमा सार्वजनिक स्थलमा सम्पन्न कार्यक्रममा सहभागी  हुँदै विधिवत रुपमा पानसमा बत्ति बाली सिक्का सार्वजनिकरण कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । कार्यक्रममा गुथिका अध्यक्ष गोपाल कृष्ण श्रेष्ठजीले स्वागत मन्तब्य अभिव्यक्त गर्नु भएको थियो भने अध्यापिका प्रेमशान्ति तुलाधरले अनवरत रुपमा नेपालभाषामा पनि विशेष गरी लिपिको संरक्षणका लागि सक्रिय पं हेमराज शाक्यको परिचय दिनु भएको थियो ।

भिंतुना गुथिले ने.सं. ११२५ देखि निरन्तर रुपमा समाज रुपान्तरण्का संवाहकको सम्मानमा त्यस्ता व्यक्तित्वको फोटो सहितको सिक्का प्रकाशन गर्दै आइरहेका छन । गुथिले  यसअघि  ने.सं.११२५मा नेपाल सम्वतका प्रवर्तक शंखधर साख्वाःको फोटो सहितको चाँदीको सिक्का सार्वजनिक रुपमा बजारमा ल्याएको थियो । त्यसपछि कविकेशरी चित्तधर हृदय ने.सं. ११२६, गद्यगुरु पं. निष्ठानन्द बज्राचार्य ने।सं।११२७, महाकवि सिद्धिदास महाजु ने.सं. ११२८, मास्टर जगतसुन्दर मल्ल ने.सं. ११२९, योगविर सिं कसाः ने.सं. ११३०, साहित्य सुता वौद्धऋषि महाप्रज्ञा ने.सं. ११३१, धर्मा्दित्य धर्माचार्य ने.सं. ११३२, भाषानिभाः प्रेमबहादुर कसाः ने.सं. ११३३, यूगकवि सिद्धिचरण श्रेष्ठ ने.सं. ११३४, शहिद शुक्रराज शास्त्री ने.सं. ११३५ व गौतम बुद्ध ने.सं. ११३६ को फोटो सहितको चाँदीको सिक्का भिंतुना गुथिबाट बजारमा ल्याइसकेको छ ।