बिहिबार, बैशाख १३, २०८१

घुस्याह नासु खत्री विरुद्ध मुद्दा दायर

कम्प्युटर अपरेटर महत्तो रु ३२ हजार घूस लिँदालिँदै कार्यालयबाट पक्राउ

 काठमाडौ असोज ३०, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत काभ्रेपलाञ्चोकमा कार्यरत नायब सुब्बा राजेन्द्र खत्रीविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगका अनुसार नासु खत्रीले अंगभंग मुद्दाको थुनछेकका क्रममा सेवाग्राहीलाई त्रासमा पारी काम मिलाइदिने भन्दै रु एक लाख २५ हजार घूस माग्दामाग्दैको अवस्थामा निजलाइ गत शुक्रवार पक्राउ गरिएको जनाएको छ ।

त्यस्तै आयोगले आज दायर मुद्धामा नासु खत्रीविरुद्ध बिगोसमेत असुलउपर गरी हदैसम्मको कारबाहीको माग गरेको छ । यस्तै आयोगले आन्तरिक राजश्व विभाग जनकपुरमा कार्यरत कम्प्युटर अपरेटर रामकिशोर महत्तोलाई रु ३२ हजार घूस लिँदालिँदै नापी कार्यालयबाट पक्राउ गरेको छ ।

कानूनबमोजिम दर्ता भएको पसल बन्द गरी पाऊँ भनी सेवाग्राहीले दिएको निवेदन कार्यान्वयन गर्ने बहानामा कम्प्युटर अधिकृत महत्तोले घूस मागेको आयोगले जनाएको छ ।