काठमाडौ असोज ३, प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान दिवसको अवसरमा दिनु भएको शुभकामना सन्देशमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै नेपालको संविधान लोकतान्त्रिक मूल्यमान्यता, समावेशिता र नागरिक अधिकारको सन्दर्भमा विश्वकै उत्कृष्ट रहेको उल्लेख गर्नुभएको छ ।
त्यस्तै सन्देशमा उहाँले संविधान जीवन्त र गतिशील दस्तावेज भएको बताउँदै यसलाई जीवन्त राख्न असल राजनीतिक संस्कार, नागरिक सचेतना र सुशासन अपरिहार्य रहेको उल्लेख गर्नुभएको छ । त्यस्तै समाजमा व्याप्त गरिबी, असमानता, भोक, रोग, अशिक्षा र कलहका खाडललाई पुर्दै जाँदा मात्र संविधानले परिलक्षित गरेका महत्वपूर्ण गन्तव्यमा पुग्न सकिने बताउँदै स्थानीय, प्रान्तीय र संघीय तहको निर्वाचनसँगै मुलुक संक्रमणकालीन अवस्था पार गर्दै राजनीतिक स्थायित्व र आर्थिक विकासको नयाँ युगमा प्रवेश गरेको बताउँनु भएको छ ।
यसैवीच एमालेका अध्यक्ष केपी ओली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल , मन्त्रिपरिषद्का पूर्वाध्यक्ष खिलराज रेग्मी लगायतले संविधान दिवसका अवसरमा विभिन्न दलका शीर्ष नेताले शुभकामना दिँदै देशमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवम् आपसी सद्भाव कायम हुन सकोस् भनी कामना गर्नुभएको छ । साथै उहाँहरुले संविधानले मुलुकमा शान्ति र स्थायित्व सुनिश्चितता गर्दै भविष्यको विकास र समृद्धिका लागि स्पष्ट मार्गदर्शन गरेको छ भन्दै उहाहरुले संविधान कार्यान्वयनको महत्वपूर्ण चरणमा स्थानीय निर्वाचनमा उत्साहपूर्ण जनसहभागिता महत्वपूर्ण उपलब्धि भएको बताउँनु भएको छ ।