शुक्रबार, चैत्र १६, २०८०

९ वैशाखमा एमाले–माओवादी एकता घोषणा नहुने , एकता प्रक्रिया लम्बियो

काठमाडौ वैशाख ५ , पूर्वनिर्धारित ९ वैशाखमा एमाले–माओवादी एकता घोषणा नहुने भएको छ । मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले विवादित विषयमा कुनै प्रगति गर्न नसकेपछि एकता प्रक्रिया लम्बिएको हो । बैठकले विवादका विषय टुंग्याउने जिम्मा दुई अध्यक्ष केपी ओली र प्रचण्डलाई दिएको छ । यसअघि २२ चैतमा बसेको एकता संयोजन समिति बैठकले ९ वैशाखमा पार्टी एकता घोषणासभा गर्ने निर्णय गरेको थियो । दुई अध्यक्ष बसेर सहमति निकालेपछि समितिको अर्को बैठक बसेर एकता घोषणा मिति सार्वजनिक गरिने बैठकपछि नेताहरूले बताए ।

प्रधानमन्त्री ओली भारत भ्रमणबाट फर्किएपछि बैठक बसेर विवादित विषय टुंग्याउने भने पनि पटक–पटक बैठक स्थगित हुँदै आए । दुवै अध्यक्ष कार्य व्यस्तता देखाउँदै अन्य कार्यक्रमहरूमा सक्रिय हुँदा बैठक बस्न सकेको थिएन । २२ चैतपछि पहिलोपटक मंगलबार बैठक बसेको हो ।  एमाले माओवादी सम्मिलित दुवै कार्यदलले सहमति जुट्न बाँकी तीन विषयलाई थाती राखेर प्रतिवेदन एकता संयोजन समितिलाई बुझाएका थिए । तर, समितिले पनि एकीकृत पार्टीको दस्तावेजमा ‘जनयुद्ध’ लेख्ने वा नलेख्ने, नयाँ पार्टीको चुनाव चिह्न के राख्ने र सांगठनिक संरचनामा कुन पार्टीको सहभागिता कति रहने भन्ने विषय टुंग्याउन सकेको छैन ।

यद्यपि चुनाव चिह्न र प्रस्तावनामा जनयुद्ध शब्द लेख्ने वा नलेख्ने विषयमा खासै विवाद नभएको बैठकमा सहभागी एक नेताले बताए । तर, सांगठनिक रूपमा कुन पार्टीको कति प्रतिनिधित्व हुने विषयमा दुवै पार्टीले मुख्य मुद्दा बनाएको ती नेताले बताए । माओवादीले ५०–५० प्रतिशतलाई आधार मान्नुपर्ने बताउँदै आएको छ भने एमालेले निर्वाचनमा पाएको जनमतका आधारमा एकता गर्नुपर्ने तर्क गरेको छ ।  नयाँपत्रिकाबाट

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।